नेपालगन्ज, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकलाई बाह्य दबाबबाट मुक्त गर्न आवश्यक रहेको बताएका छन्।
आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटका अवसरमा उनले राष्ट्रिय एकता बलियो बनाउँदै २०० वर्षदेखि नेपालमाथि भइआएको बाह्य हस्तक्षेप अन्त्य गर्ने समय आएको छ भने । अहिले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी निन्दनीय र अमानवीय भएको बताउँदै उनले यसको मुकाबिला सबैले मिलेर गर्नुपर्नेमा जोड दिए।
संविधान जारी भएपछि मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यका साथ आफूले एमाओवादी पार्टी परित्याग गरेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, “मुलुकलाई अब नयाँ राजनीतिक शक्ति चाहिएको छ । त्यो शक्ति अब छिट्टै निर्माण हुन्छ ।”
सबैको परामर्श, सल्लाह र सहभागिताका आधारमा नयाँ शक्तिको उदय हुने उनको भनाइ थियो ।








