असोज २१ । काठमाडौँ , नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवापक्षले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन पार्टी सभापति सुशील कोइरालालाई दबाब दिने तयारी गरेको छ। देउवानिकट नेताहरूको बुधबार साँझ भएको बैठकले संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढे उपसभापति पौडेललाई उछिन्ने निष्कर्ष निकालेको छ। सभापति कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्षमा रहे त्यसका लागि पनि दलको निर्वाचन हुनुपर्ने देउवा पक्षको दाबी छ।
केन्द्रीय समितिबाट आफूलाई पुनः अनुमोदन गराएर कोइराला आफैँ प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेको देउवानिकट नेताहरुको बुझाइ छ। ‘सुशीलजी नै उम्मेदवार भए पनि अब प्रक्रियामा लैजानुपर्छ,’ एक नेताले भने, ‘उहाँहरु केन्द्रीय समितिबाट उम्मेदवार चयन गर्ने पक्षमा देखिनुभएको छ।’ समाचार आजको नागरिक दैनिकमा छ ।
भेलाले सत्ता साझेदार नेकपा (एमाले) लाई नयाँ सरकारको नेतृत्व दिने सहमति भए–नभएको विषयमा सभापति सुशील कोइरालासँग जानकारी माग्ने निर्णय गरेको छ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा एमालेलाई सरकारको नेतृत्व दिने सहमति भएको हो भने सभापतिलाई त्यस्तो अधिकार कसले दियो भन्ने प्रश्न उनीहरुले अघि सार्न लागेका हुन्।
एमालेसँग विगतमा के भएको हो भन्ने सभापतिसँग स्पष्ट जानकारीपछि मात्र नयाँ सरकार गठनको छलफललाई अघि बढाउने देउवापक्षको तयारी छ। ‘एमालेलाई नेतृत्व दिने सहमति भएको हो कि होइन पहिला सभापतिले स्पष्ट पानुपर्छ,’ देउवानिकट नेताहरूको बैठकमा सहभागी एक नेताले भने, ‘हो भने उहाँ (सभापति) लाई व्यक्तिगतरूपमा सहमति गर्ने अधिकार कसले दियो? सभापतिलाई एक्लै त्यस्तो अधिकार छैन, त्यसबारेमा सभापतिलाई सोध्ने तयारी छ।’
सभापति कोइरालाले व्यक्तिगतरूपमा गरेको सहमतिलाई पार्टीको भन्न नमिल्ने भन्दै देउवानिकट नेताको भेलाले नयाँ सरकारको नेतृत्व पार्टीले नै गर्नुपर्ने ठहर गरेको छ। ‘पार्टीको कुनै तहमा छलफल नै नभएको कुरालाई सहमति मान्न सकिँदैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘ठूलो दलको हैसियतमा कांग्रेसले नेतृत्वको दाबी गर्नुपर्छ।’
कांग्रेसको नेतृत्वमा सरकार गठनको सम्भावना रहेको ठहर गर्दै बैठकले सकेसम्म वरिष्ठ नेता देउवालाई नै प्रधानमन्त्रीका लागि अघि सार्ने सहमति गरेको छ। तर, देउवाको पक्षमा सहमति जुट्न नसके पनि एमालेलाई सरकारको नेतृत्व दिन नहुने धारणा राख्दै केन्द्रीय सदस्यहरूले सभापति सुशील कोइराला वा उपसभापति रामचन्द्र पौडेलाई भए पनि अघि सार्ने समझदारी गरेका छन्।
सभापति कोइरालाले सरकारको नेतृत्व छाड्ने बताइसकेको भन्दै स्रोतले भन्यो, ‘पार्टीभित्र मात्र होइन, राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्नुपर्छ भन्ने नै हो। सभापतिजीले छोड्छु भन्ने भएकाले अब शेरबहादुरजीलाई अघि बढाउँछौँ।’
केन्द्रीय सदस्य मीनबहादुर विकले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दा मुलुकको समस्या थप जटिल बन्ने हो कि भन्ने आशंका व्यक्त गर्दै भने, ‘संविधान कार्यान्वयनका लागि मजबुत सरकार बन्नुपर्छ।’ सुशीलदाइले छोड्दा अब शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अघि सार्नुपर्ने उनले बताए। ‘मधेसमा ओली र पहाडमा राजेन्द्र महतोको छवि उस्तै बन्यो,’ विकले भने, ‘त्यसको विकल्प खोज्नुपर्छ।’
सभापतिले सरकारको नेतृत्व छाड्ने बताएसँगै नयाँ सरकारको नेतृत्व लिन आफू पनि इच्छुक रहेको कोइरालालाई अवगत गराइसकेको भन्दै बैठकमा वरिष्ठ नेता देउवाले भने, ‘तपाईंले छोड्ने हो भने म पनि तयार छु भन्दा रामचन्द्रजी (उपसभापति रामचन्द्र पौडेल) ले पनि इच्छा व्यक्त गरेको जवाफ पाएँ, प्रक्रियामा लैजानुहोस्, जो भए पनि हुँला भनेको छु।’
बुधबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, शेखर कोइरालालगायत नेताले एमालेलाई सरकारको नेतृत्व दिनै नहुने धारणा राखेका थिए। नेता केसीले त पार्टीले उम्मेदवारी नदिए आफैँले प्रधानमन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका छन्।
तर, देउवानिकट सहमहामन्त्री पूर्णबहादुर खड्कासहितका केही नेता अहिले एमालेसँग मिलेर नै अघि बढ्नुपर्ने पक्षमा उभिएका छन्।
यसैबीच, नयाँ सरकार गठनका विषयमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालासँग एमाले अध्यक्ष केपी ओलीले छलफल गरेका छन्। कोइरालालाई भेट्न प्रधानमन्त्रीनिवास पुगेका ओलीले प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।







