असोज १७ । काठमाडौँ, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भए पनि परिस्थिति परिर्वतन हुँदै गएको बताएका छन्। राजधानीमा शनिबार पार्टी निकट नेवाः, ताम्सालिङ र तमुवानको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले प्रधानमन्त्री पदका लागि धेरै नेताको ग्रन्थी रसाएको सुनाए।
अध्यक्ष दाहालले मुलुकमा आएको उतारचढावसँगै नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला आफैँ निरन्तरता दिन लागिपरेको बताए। कांग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलसमेत प्रधानमन्त्रीको आकांक्षी रहेको बताउँदै उनले केही मधेसी दललाई पनि प्रधानमन्त्रीको लोभ पलाएको बताए। एमाले अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको आकांक्षी रहेको सुनाउँदै दाहालले एकीकृत माओवादी प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिस्पर्धामा नभएको स्पष्ट पारे।
कांग्रेस सहमतिबाट पछि हट्न लागेको आरोप लगाउँदै दाहालले प्रशिक्षणमा भने, ‘१६ बु”दे समझदारी गर्दा संविधान जारी भएपछि सुशीलजी (सुशील कोइराला) ले छाड्ने र एमालेको नेतृत्वमा सहमतिको सरकार बनाउने भन्ने भएको हो।’
प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष ओलीलाई ‘संविधान जारी भएपछि नयाँ सरकारको नेतृत्व तपार्इंले नै गर्ने भन्दै पटक–पटक आश्वस्त बनाएको’ पनि दाहालले प्रशिक्षणमा सुनाएका थिए। ‘म, विजयजी (विजयकुमार गच्छदार) र केपी ओलीसमेत रहेको बैठकमा सुशीलजीले पटक–पटक तपाईं ढुक्क हुनुस् भनेको मैले सुनेको छु।’
पूर्वसमझदारी अनुसार एमालेले सरकारको नेतृत्व लिन खोज्नु अस्वाभाविक नभएको जनाउँदै दाहालले संविधान संशोधन, ऐन कानुन बनाउन पनि सहमतिको सरकार गठन गर्नुपर्ने बताए। ‘संविधान संशोधन, ऐन कानुन निर्माण र संघीयता कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार हुँदा राम्रो हुन्छ,’ दाहालले भने, ‘ओली नै नभई हुन्न भन्ने त होइन।’ समाचार आजको नागरिक दैनिकमा छ ।
सहमतिमा कोइराला, देउवा जो प्रधानमन्त्री भए पनि आपत्ति नरहेको दाहालको भनाइ थियो। ‘प्रधानमन्त्री पदलाई लिएर प्रमुख पार्टीबीच झगडा भयो भने संविधान संशोधनको कुरा अप्ठेरो हुन्छ भनेर भनेका छौं,’ दाहालले प्रशिक्षणमा भने, ‘तीन दलबीच सहमतिको सरकार गठन गर्न सहमति भएन के गर्ने भन्ने अन्तिम समयमा निर्णयमा लिन्छांै, अन्तिमसम्म हाम्रो पहल सहमतिको सरकार गठनका लागि हुन्छ।’
दाहालले अबको दुई वर्ष पार्टी नेतृत्व सम्हाल्ने जनाउँदै त्यसबीचमा एकीकृत माओवादीलाई पहिलो पार्टी बनाउने दाबी गरे। उनले पार्टी परित्याग गरेका नेता बाबुराम भट्टराईको आलोचना नगर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। भट्टराईको पार्टी परित्यागसहितको राजीनामा स्वीकृत नहुने दाहालले जानकारी दिए। समाचार आजको नागरिक दैनिकमा छ ।








