असोज १७ । काठमाडौँ, एकीकृत नेकपा माओवादीबाट पदीय जिम्मेवारी त्यागेका नेताहरूले नयाँ अभियान थालेका छन् । नेपालको माओवादी आन्दोलनको कार्यदिशा गलत ठाउँमा पुगेको निष्कर्षसहित् उनीहरूले नयाँ अभियानको थालनी गरेका हुन् ।
उनीहरूले विभाजित सबै माओवादी पार्टीको औपचारिक रूपमै विघटन गरी नयाँ ढंगले पुनर्निमाण गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । यस्तो अभियानमा एमाओवादीको स्थायी समितिदेखि पार्टीका सम्पूर्ण पदीय जिम्मेवारी त्यागेर बसेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट, लेखराज भट्ट, हेमन्तप्रकाश वलीसम्मका नेताहरू सक्रिय बनेका छन् ।
विष्ट एमाओवादीको सम्पूर्ण पदीय जिम्मेवारीबाट, भट्ट पोलिटव्यूरो सदस्यबाट, र वली केन्द्रीय समितिबाट राजीनामा दिएर बसेका नेता हुन् । उनीहरूलाई ११ असोजमा बसेको एमाओवादी केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माओवादीहरूकाबीचमा साझा अभियानमार्फत पार्टी विघटन गर्ने र नयाँ ढंगले पुनर्निमाण गर्नुपर्ने उनीहरूको प्रस्ताव छ । समाचार आजको राजधानी दैनिकमा छ ।








