असोज १७ । काठमाडौँ, कांग्रेस–एमालेबीचको बहुप्रचारित सहमति विपरित प्रधानमन्त्री सुशील कोइराला आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने अभ्यासमा लागेका छन् । सहमतिअनुसार संविधान जारी भइसकेपछि प्रधानमन्त्रीका रूपमा केपी ओलीले विस्थापित गर्ने भनिए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार कोइरालाले आफूलाई नयाँ प्रधानमन्त्रीमा समर्थन गर्न सहयोगको याचना गरेका थिए ।
शनिबार साँझ प्रधानमन्त्री निवासमा कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच भेट भएको थियो । दुई नेताबीच भएको छलफलमा कोइरालाले पहिलोपटक मुख खोलेर आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठन गर्न एमाओवादीलाई आग्रह गरेका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दलहरूलाई आह्वान गरेको दोस्रो दिन कोइरालाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरू गरेका हुन् । प्रधानमन्त्रीले कांग्रेस । एमाओवादी मिलेर बहुमतीय सरकार गठन गरौँ भनेर प्रस्ताव राख्नु भयो,’ एमाओवादी अध्यक्ष दाहाल निकट स्रोतले भन्यो । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।








