तातोपानी नाका सात दिनभित्र खुल्ने

Tatopani_After_EarthQuake_07असोज १४ । काठमाडौँ,  दक्षिणी सीमामा अघोषित नाकाबन्दी भइरहेकाबेला भूकम्पका कारण पाँच महिनादेखि बन्द चीनसँग जोडिएको तातोपानी नाका जोड्ने सडक साताभित्रै सञ्चालन हुने भएको छ । यसका लागि सरकारले सडकमा थुप्रिएको पहिरो हटाउन सबै संयन्त्र परिचालन गरेको छ । दुईसाता देखि लगातार पहिरो पन्छाएर अहिले एकतर्फी ट्र्याक मितेरी पलुको करिव डेढसय मिटर नजिकै पुर्याइएको छ ।  ठूलठूला चट्टान सडकमा थुप्रिएकाले सीमा नजिकैको लिपिङ बजारमा बढी समस्या देखिएको छ ।

अहिले सडक विभाग, स्थानीय प्रशासन र व्यापारिक संघसंस्थालाई पहिरो पन्छाउन केन्द्रित गराइएको छ । सडक विभागका महानिर्देशक मधव कार्कीका अनुसार बाह्रबिसे–तातोपानी खण्डको २६ किमी सडकमा ब्रेकर, डोजर, स्काभेटर, लोडर तथा जेसिभीसमेत ९ वटा मेसिनले पहिरो पन्छाउने र चट्टान फोर्ने काम गरिरहेका छन् ।  ‘सीमाको चार किमी नजिकसम्म सार्वजनिक यातायात नै चलिसकेको छ,’ सडक निर्माणमा संलग्न चरिकोट डिभिजन कार्यालयका इन्जिनियर रामबहादुर गुरुङले भने, ‘फेरि पनि मेसिन थप्ने तयारी गरिरेका छौँ । भूकम्पले सुख्खा पहिरो गएपछि अवरूद्ध नाका सञ्चालनमा आउन सकेको छैन ।’ समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु