असोज १३ । काठमाडौँ, सीमावर्ती नाकाका भारतीय भन्सार÷अध्यागमन तथा सुरक्षा निकायले ‘नेपाली भूभागमा असुरक्षा रहेको, ढुवानीकर्ताले लैजान नमानेको र सुरक्षा जाँचपासको कडाई’ का तीन प्रमुख कारण देखाउँदै सबै नाकाबाट पारवहन तथा ढुवानीको नियमित प्रक्रिया एकैसाथ रोकेको पाइएको छ ।
केन्द्र सरकारले ‘नाकाबन्दी गरिएको छैन’ भनेर जवाफ दिँदै आएपनि सबैनाकामा समान कारण देखाउँदै एक सातायता निर्यात रोकिएको छ । यसैगरी, तेस्रो देशबाट आयातित सामान र भारतबाट जाने पेट्रेलियम पदार्थ नेपाल निर्यातमा पूरै ‘नाकाबन्दी’ गरिएको तथ्यसमेत पुष्टि भएको छ । नेपालमा संविधान जारी भए लगत्तै भारतीय विदेश मन्त्रालयले विभिन्न चरणमा विज्ञप्ति जारी गर्दै भारतीय सीमा नजिकका नेपाली भू–भागमा भएका हिंसात्मक घटनामा चासो’ देखाउन थालेको थियो । गत मंगलबार (सेप्टेम्बर २२) जारी अर्को एउटा विज्ञप्तिमा ‘विद्यमान असहजताले गर्दा हाम्रा मालबाहक कम्पनी तथा यातायातकर्मीले पनि नेपाल आवतजावतमा कठिनाई भोग्नुपरेको र आफ्नो सुरक्षा चिन्ता प्रकट गरेको’ भन्दै विज्ञप्ति जारी गरेर नाकाबन्दीको पूर्व संकेत’ गरिएको आजको कान्तिपुर दैनिकमा छ ।








