असोज १३।काठमाडौँ, अख्तियारले कारवाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । शुक्रबार सुरू हुने संसद् अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारवाही सिफारिस गरेका खेलकुदमन्त्री पुरूषोत्तम पौडेल र ऊर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका हुन् ।
‘अख्तियारले भ्रष्टाचारको आरोपमा एमालेका दुई मन्त्रीलाई पदीय कारवाहीको सिफारिस गरेकाले मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्रीले एमाले अध्यक्षलाई आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री कार्यलय स्रोतले भन्यो, ‘एमालेले फिर्ता नगरे आफू ती मन्त्रीलाई बर्खास्त गर्न बाध्य हुने प्रधानमन्त्रीले जनाकारी गराउनु भएको छ ।’ समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।








