असोज ७ । काठमाडौँ, भारतीय राजदूत रन्जित रेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मधेस समस्या समाधानमा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन् । विशेष परामर्शका लागि दिल्ली पुगेका राजदूत रेले बुधबार काठमाडौँ फर्केकै दिन दाहालसँग भेटी मुलुकलाई सामान्य परिस्थितिमा लैजान संविधानबिरूद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने र त्यसको नेतृत्व गर्न दाहाल नै उपयुक्त पात्र हुने बताए । आन्दोलनलाई वार्ताका माध्यमबाट सम्बोधन गर्ने अवस्थामा पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अध्यक्ष दाहालसँग राजदूत रेले आग्रह गरेको उनका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए ।
बुधबार साँझ लाजिम्पाटस्थित दाहाल निवास पुगेका राजदूत रेलाई उद्धृत गर्दै खड्काले भने, ‘तराई मधेसको स्थिति गम्भीर र जटिल बन्दै गएको छ । छिटै वार्तामार्फत सहमतिमा पुगोस् । भारतमा सहमति नहोस् भन्नेहरू पनि छन् तर भारत सरकार वार्ताद्वारा समस्या समाधान होस् भन्ने चाहन्छ । त्यसका लागि तपाईंले नेतृत्व लिइदिनुपर्यो।’ सञ्चारमाध्यममा उल्लेख भएजसरी भारतले नेपालको संविधानमा सातबुँदे सुझाव नदिएको पनि दाहालसँग राजदूत रेले प्रस्ट्याए । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








