‘साइकल चढ्छौँ तर झुक्दैनौँ’

Nepal-polls-Mao615असोज ६ । काठमाडौं, एमाओवादीका अध्यक्ष प्रचण्डले भारतले नेपालीको आत्मसम्मान र स्वाभिमान गिराउन खोजे प्रतिवाद गर्न तयार रहेको चेतावनी दिएका छन् । भारतले नाकाबन्दी गरे गाडी छाडेर साइकल चढ्ने तर, नझुक्ने उनको प्रतिज्ञा छ ।

मंगलबार दिउँसो एमाओवादीका स्थायी समिति सदस्य गोपाल किरातीको पुस्तक ‘प्रचण्डपथको विजय’ विमोचन गरेपछि अध्यक्ष प्रचण्डले प्रतिवादको चेतावनी दिएका हुन् ।

‘यदि हामीलाई झुक्याउने उद्देश्यले हाम्रो आत्मसम्मान, नेपालीको स्वाभिमान गिराउने, ह्युमिलेट गर्न खोजिएको हो भने हामी त्यसको प्रतिवादमा जेजे गर्नुपर्छ त्यो सबै गर्न तयार छौँ भन्ने वाचा हामी गर्ने कि नगर्ने रु’ उनले प्रश्न गर्दै भने, ‘यो एउटा ऐतिहासिक प्रश्न मधेस, पहाड, हिमालका नेपालीका अगाडि छ ।’ अध्यक्ष प्रचण्डले संविधान जारी गरेर नेपालीले राजनीतिक रूपमा आफ्नो फैसला आफैँ गर्न सक्षम रहेको स्थापित गरेको बताए । उनले भारतको नाम नलिई नेपालीले आफ्ना बारेमा आफैँ फैसला गरेको उसलाई मन नपरेको बताउँदै भने, ‘हामी नेपाली आफ्नाबारेमा फैसला गर्न सक्षम छौँ भन्ने स्थापित गरेको कतिपयलाई मन परेको छैन ।’

अध्यक्ष प्रचण्डले भारतले नेपालमाथि नाकाबन्दी गर्न खोजेको प्रसंग उठाउँदै कसैको दबाबका सामु नझुक्ने बताए । जनयुद्धका बेला, जंगलमा गाउँगाउँमा, झुप्रोमा कहिले भोकै, कहिले खाएर, कहिले मृत्युसँग बिहानदेखि बेलुकासम्म लुकामारी गर्दै हिँडेको १० वर्षको अनुभव आफूहरूसँग भएको उनले बताए ।

लाखौँलाख युवायुवती प्राण हत्केलामा लिएर हिँडेको अनुभूति छ हामीसँग,’ उनले भने, ‘हामीलाई कसैले साँच्चै दबाबै दिने उद्देश्य राख्छ भने हामी गाडी छोडेर साइकल चढ्ने, जरुरी पर्छ भने केही समय दुस्खकष्ट उठाएर भए पनि नझुक्ने प्रतिज्ञा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने यक्षप्रश्न खडा भएको छ ।’
प्
रचण्डले मधेसी, थारू र जनजातिका जायज माग सम्बोधन गर्ने प्रक्रिया सुरु भएको बताए । उनले नेपालभित्रका समस्या समाधान गर्ने जिम्मेवारी पनि नेपालीकै भएको स्पष्ट पारे । मधेस पहाड, हिमालका, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायका बहस हाम्रा घरका बहस हुन् भन्दै प्रचण्डले घरको समस्या समाधान गर्ने जिम्मेवारी हाम्रै भएको बताए ।

अध्यक्ष प्रचण्डले मधेसका जनतालाई काठमाडौंसँग हिस्सा खोज्न आग्रह गरे । ‘मधेसका जनताले काठमाडौंसँग आफ्नो पूराका पूरा हिस्सा, अंश खोज्नुपर्छ,’ उनले भने, ‘काठमाडौंबाट अलग्गिन खोज्नु, आत्मघात हुन्छ, इतिहासप्रति घात हुन्छ र राष्ट्रघात हुन्छ ।’

“प्रचण्डपथको विजय”ले अप्ठ्यारो
प्रचण्डले प्रचण्डपथको रूपमा विचारको संश्लेषण भएपछि उत्पीडित वर्गले आन्दोलनलाई तीव्रता दिएको बताए । ‘०५७ मा प्रचण्डपथको रूपमा एउटा विचार संश्लेषण माओवादीले गरेपछि देशमा आन्दोलत निकै तीव्र गतिमा अगाडि बढ्यो,’ उनले भने ।

उनले वामपन्थी कम्युनिस्ट एकतालाई ध्यानमा राखेर आफूले प्रचण्डपथ स्थगित गरेको भन्दै किरातीले पुस्तकको नाम ‘प्रचण्डपथको विजय’ राख्दा आफूलाई अप्ठ्यारो लागेको बताए । पुस्तकमा किरातीले प्रचण्डपथ विजयी भएको दाबी गरेका छन् । कार्यक्रमका किरातीले संविधानसभाबाट संविधान बन्नु प्रचण्डपथको विजयी भएको बताए । समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु