भदौ ३१ । काठमाडौँ, राजधानीमा संविधान निर्माण धमाधम जारी रहँदा मधेसमा साना–ठूला आन्दोलन भइरहे ।
आन्दोलन नेतृत्वकर्ता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू पनि एक सातायता काठमाडौँमै छन् । वार्ता गर्न काठमाडौँ नफर्कने मधेसमै वार्ता हुनुपर्ने अडान राखेका सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई छाड्ने हो भने समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र तमसपा अध्यक्ष महेन्द्रराय यादव अनौपचारिक भेटघाट, बैठकहरूमा व्यस्त छन् ।
तमसपा अध्यक्ष यादव जलेश्वर र जनकपुरको विरोध प्रदर्शनमा भाग लिएर मंगलबारै राजधानी फर्किहाले । आन्दोलनको मैदान नछाड्ने वाचा गर्दै हिँडेका यी चार दलमध्ये तीन दलका अध्यक्षको उपस्थिति बिनै मधेसका कार्यकर्ता र समर्थक आन्दोलित छन् । ३६ प्रदर्शनकारी र ९ सुरक्षाकर्मीको ज्यान, दर्जनौँ घाइते भएको आन्दोलन चल्दाचल्दै नेतृत्वले किन मौनता देखायो त? मोर्चाको उच्च स्रोतका अनुसार तीन दलका अध्यक्षहरू मधेसको आन्दोलन आफ्नो नियन्त्रण बाहिर जाने छनक पाएर गम्भीर देखिएका छन् । त्यसैले ठूला तीन दलसँग वार्तामार्फत् आन्दोलनको बैठान र कूटनीतिक पहलमा उनीहरूको समय गुज्रिइरहेको छ । बचेको समय उनीहरूले पत्रकार भेटघाट र अन्तरवार्ता दिइरहेका छन् । मधेस आन्दोलनसँग सहानुभुती राख्ने बुद्धिजीवी, नागरिक अगुवासँग दिनको दिन उनीहरूको भेट भइरहेको बुझिएको छ । ‘हामी संविधान निर्माण प्रक्रियामा नैतिक रूपमा पनि अब सहभागी हुन सक्दैनौँ,’ समाजवादी फोरमका एक पदाधिकारीले भने, ‘तर हाम्रा मुद्दाहरूको सुनुवाई हुने वातावरण बनोस्, र आन्दोलनले निष्कर्ष पाओस् भन्ने हाम्रो चाहना छ । समाचार आजको कान्तिपुर दैनिकमा छ ।








