भदौ २९ । काठमाडौँ, तराई आन्दोलनका माग सम्बोधन नगरेको भन्दै आइतबार संविधानसभा बहिष्कार गरेका कांग्रेसका सभासद् सोमबार फर्किएका छन् ।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको पहलमा उनीहरू संविधानसभा बैठकमा फर्किएका हुन् । आइतबार बहिष्कार गर्ने सभासद् सुरेन्द्र चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, रामअयोध्या यादव, र दिनेशप्रसाद परसैला सोमबार संविधानसभा बैठकमा सहभागि भएका हुन् उनीहरू पाँचैजनाले संविधानसभाको हाजिरी पुस्तिका उपस्थिति जनाएका छन् । देउवाले उनीहरूलाई टेलिफोन गरी संविधानमा फिर्ता बोलाएका हुन् ।
स्रोतका अनुसार देउवाले तराईको आन्दोलन सम्बोधन गर्न कांग्रेसले पहल गरिरहेको भन्दै संविधानसभामा फर्किन आग्रह गरेका थिए । देउवाले सभासद् सुरेन्द्र चौधरीलाई केहीबेर भेटेरै कुरा गरेका थिए । शेरबहादुर देउवाजीले फोन गरेर बोलाएका कारण फिर्ता भएका हौँ,’ चौधरीले भने । कांग्रेसका सभासद् प्रदीप गिरी र शिला खड्का भने अझै संविधानसभामा अनुपस्थित छन् भने खड्काले हिन्दू राष्ट्र अभियानमा भएका कारण संविधानसभा बैठक बहिष्कार गर्दै आएकी छिन् । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








