भदौ २४ । काठमाडौँ, प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले, एमाओवादीले आन्दोलनरत राजनीतिक दल र नेतृत्वपंक्तिलाई वार्तामा आउन अपिल गरेका छन् । संविधानसभा परिसरमा बुधबार साँझ अबेरसम्म बसेको बैठकपछि तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री समेत रहेका सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त हस्ताक्षर सहितको वक्तव्य मार्फत वार्ताको अपिल गरेका हुन् ।
‘अहिले संविधानसभाको बहस अन्तिम चरणमा पुगेको बेला हामीहरू पुनः सबै आन्दोदनरत राजनीतिक दल र नेतृत्व पंक्तिलाई शान्तिपूर्ण छलफलद्वारा प्रस्तावित संविधानलाई थप परिमार्जन गर्न सक्ने अवसरको उपयोग गर्न अनुरोध गर्दछौँ । मतभेद र द्वन्द्वको उत्कर्षका बेलामा पनि छलफलको ढोका बन्द हुँदैन र गर्नुहुँदैन भन्ने हाम्रो मान्यता छ, बक्तव्यमा भनिएको छ । समाचार आजको कान्तिपुर दैनिकमा छ ।








