आन्दोलन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउने सहमति

भदौ २२ ।jaleswor_lathi_rally_terai, प्रदेशको सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै पूर्वमा आन्दोलनरत दलहरुबीच आआफ्ना आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउने सहमति भएको छ ।

पूर्वमा आन्दोलन सशक्त बनाउँदै लगेका विभिन्न आठ घटक संलग्न लिम्बूवान संयुक्त सङ्घर्ष समिति र १९ वटा घटक तथा सङ्गठनको मोर्चा कोचिला थारुवान तराई मधेस सङ्घर्ष समितिबीच संवाद समूहको सचिवालय झापाको संयोजनमा बिर्तामोडमा सोमबार भएको छलफलमा त्यस्तो सहमति भएको हो ।

सहमतिअनुसार भदौ २४ र २५ गते लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आमहडतालको आह्वान गरेको भए पनि २४ गते बिर्तामोडमा हुने कोचिला थारुवान तराई मधेस सङ्घर्ष समितिको बृहत् जनसभाका लागि सहभागी लिएर ब्यानर र झन्डासहित आउने गाडीलाई अवरोध नगर्ने सहमति भएको छ ।

त्यस्तै एक अर्का मोर्चाबीच कुनै पनि प्रकारको आरोप प्रत्यारोप र विरोधी नाराबाजी नगर्ने, आन्दोलनमा घुसपैठ हुन नदिन दुवै पक्ष सजग र सचेत रहनेसमेत सहमति भएको छ ।

आन्दोलनका क्रममा कुनै समस्या आए संवादकै माध्यमबाट समाधान गर्नेसमेत सहमति भएको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताए।

लिम्बूवान संयुक्त सङ्घर्ष समितिका तर्फबाट भक्त खेवाङ लिम्बू, धनबहादुर पन्धाक सुब्बा, धीरेन लावती, एनपी बनेम र परशुराम मगर र कोचिला थारुवान तराई मधेस सङ्घर्ष समितिका तर्फबाट संयोजक त्रिनारायण राजवंशी तथा सूर्यनारायण गणेश, सुरेश यादव, सन्तोष राजवंशी र खकेन राजवंशीले हस्ताक्षर गरेको संवादका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु