पूर्व सांसद एमालेमा प्रवेश

CPN-UMLकाठमाडौँ, समाजवादी जनता पार्टीका महासचिव कृष्णबहादुर शाही शुक्रबार नेकपा एमालेमा फर्किएका छन् ।

जाजरकोट क्षेत्र नं २ बाट २०४८ सालको निर्वाचनमा एमालेबाट विजयी र पछि पनि प्रत्याशी बनेका शाहीलाई शुक्रबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले स्वागत गरे।

कार्यक्रममा महासचिव पोखरेलले एमाले संविधान निर्माण र राष्ट्रियताको संरक्षणका लागि अगुवा शक्तिका रुपमा क्रियाशील रहेको बताउँदै सामाजिक सद्भाव खल्बल्याउने र पार्टीलाई तेजोबध गराउने षड्यन्त्रलाई चिरेर अघि बढिने बताए ।

“केही दिन ढिलो होला तर संविधान जारी हुन्छ, यो काममा एमाले निष्ठावान् र भरोसायुक्त भएर नेतृत्व गरिरहेको छ”, उनले भने।

उनले विज्ञसहितको आयोगले सीमाङ्कनबारे पछि टुङ्गो लगाउने पक्षमा एमाले रहे पनि सहमतिमा बाधक नहुन सीमाङ्कनको खाकामा सहमति जनाएको बताए।

नवप्रवेशी शाहीले प्रेमबहादुर सिंह नेतृत्वको जनता पार्टीमा लागेर केही समय बाटो बिराए पनि अब एमालेलाई मुलुकको पहिलो शक्ति बनाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

जनता पार्टीका केन्द्रीय सदस्य टीका थापासहित शाही निकट अन्य कार्यकर्ता जाजरकोट र सुर्खेतमा हुने कार्यक्रममा प्रवेश गराइने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु