संविधानसभामा परिमार्जित विधेयकमाथि छलफल जारी

ca-memberभदौ ११। काठमाडौँ, १संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि सभासद्ले आफ्नो भनाइ राख्नेक्रम जारी नै रह्यो ।

छलफलमा भाग लिँदै सभासद् प्रतीक्षा तिवारीले नयाँ संविधानमा महिलाको अधिकार सुनिश्चित हुनुपर्ने सुझाव दिए।

सभासद् फरमुल्लाह मंसुरले नयाँ संविधानको मस्यौदालाई राजनीतिक दलले आफ्नो जित र हारका रुपमा लिन नहुनेमा जोड दिँदै संविधान सहमतिको दस्तावेजको रुपमा आउने विश्वास व्यक्त गरे।

सभासद् रामेश्वरप्रसाद ढुङ्गेलले नयाँ संविधान प्राप्त गर्ने जनताको अधिकारलाई अब कसैले रोक्न सक्दैन भने ।

त्यसैगरी, सभासद् आङ्दावा शेर्पाले प्रदेश निर्माणमा देखिएको असहमतिलाई चार दलका शीर्ष नेताले छलफलका माध्यमबाट समाधान खोज्न आग्रह गरे।

सभासद् केशव बडालले टीकापुर घटनालाई आतङ्ककारी घटनाको सङ्ज्ञा दिँदै घटनाको छानबिन हुनुपर्छ भने ।

सभासद् रामहरि खतिवडाले मुलुक टुक्र्याउने अधिकार कसैलाई नभएको भन्दै प्रदेश निर्माणमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न माग गरे ।

सभासद् विक्रान्त चौधरीले संविधानको मस्यौदा सहमतिबाट आउने विश्वास व्यक्त गने।

सभासद् ममता गिरीले नयाँ संविधानमा महिलाका हक अधिकार सुनिश्चित हुनुपर्छ भने।

सभासद् विशाल भट्टराईले मतसीमा थ्रेसहोल्ड राख्न, प्रदेशको निर्माणको असहमति राखी भइराखेको आन्दोलनलाई सम्बोधन गर्न जोड दिए।

सांसद पार्वता डिसी चौधरीले महिला, जनजाति, दलित, सीमान्तकृत वर्गका अधिकार सुनिश्चित गर्न ध्यान दिन आग्रह गरे ।

सांसद अनुराधा थापामगरले संविधानमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई निःशुल्क हुने व्यवस्था हुनुपर्छ भने ।

सभासद रवीन्द्रप्रताप शाहले टीकापुर घटनामा घाइते भएकालाई पनि एक तह बढुवा गर्न माग गर्दै सुरक्षा स्थितिलाई सरकारले आँकलन गर्न नसकेकाले टीकापुर घटना हुन पुगेको बताए ।

सभासद् महेन्द्र यादवले संविधान आउँछ कि आउँदैन भन्ने अब आशङ्का अन्त्य भएको भन्दै मस्यौदाले गणतन्त्र, सङ्घीयतालाई सुनिश्चित गरेको र संविधान सहमतिको दस्तावेजका रुपमा आउने विश्वास व्यक्त गरे।

सभासद् राजेन्द्रकुमार केसीले लोकतान्त्रिक मूल्य मान्यताअनुरुप संविधानसभामा आदिवासी जनताको अधिकारका बारेमा छलफल हुनुपर्नेमा जोड दिँदै सर्वप्रथम म नेपाली हुँ भन्ने भावना दिनुपर्छ भने।

सभासद् अमृतकुमार बोहराले लोकतन्त्रमा मूल्यमा आधारित संविधानको मस्यौदा आउनु राम्रो पक्ष भएको चर्चा गर्दै विविधता रहेको देशमा जातीय प्रदेश हुन नसक्ने बताए ।

सभासद् गुरुप्रसाद बुर्लाकाटीले संविधान साझा दस्तावेजका रुपमा आउने हुँदा मेरो दलले भनेका सबै कुरा संविधानमा पर्नुपर्छ भन्ने हठ त्याग्नुपर्छ भने।

सभासद् कमला विश्वकर्माले दलित अधिकारका क्षेत्रमा मस्यौदा कमजोर रुपमा प्रस्तुत भएको र अधिकार दिएजस्तो गर्ने तर ढोका बन्द गर्ने काम गर्नु भएन भने।

सभासद् सुरेन्द्र यादवले संविधान अपरिवर्तनीय नहुने भन्दै संविधानमा आफ्ना कुरा परेन भनेर आन्दोलन गर्नुभन्दा छलफलका माध्यमबाट समस्याको हल खोज्नुपर्छ भने ।

सम्बन्धित शिर्षकहरु