सद्भाव विथोलिन लागेको भन्दै एनआरएनको यस्तो चिन्ता

अष्ट्रेलिया, सामाजिक सद्भाव विथोलिन लागेको भन्दै गैरआवासीय नेपाली संघ एनआरएनले गम्भीर चिन्ता प्रकट गरेको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित गरी एनआरएनले सोमबारको  कैलाली घटना अत्यन्त दुःखद् भएको बताएको हो।

उसले सामाजिक सद्भावमा खलल पुग्ने हो कि भनेर ठूलो चिन्ता समेत व्यक्त गरेको छ । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता मन केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘मातृभूमिले भर्खरै गएको महाविनासकारी भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको र राष्ट्र पुनर्निर्माणमा सबै नेपालीहरू एकजुट भएर लागिरहेको तथा यही समयमा संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगी संविधान जारी हुने समयमा भदौ ७ गने सोमबारका दिन कैलालीको टीकापुरमा भएको घटनाले नेपाल बाहिरका सम्पूर्ण गैरआवासीय नेपालीलहरू मर्माहत बन्न पुगेका छन् ।’

त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘बर्षौंको संघर्ष तथा सयौँ सहिदहरूको बलिदानपछि  संविधान घोषणा हुने यस संवेदनशील घडीमा नेपालका विविध क्षेत्रहरूमा हिंसात्मक प्रदर्शन भइरहेकोमा हामी अत्यन्त दुखित् छौँ । यसले कतै संविधान निर्माण प्रकृयालाई नै विलम्ब गरी मुलुकमा सम्बृद्धि ल्याउने गैरआवासीय नेपालीको चाहना तुषारापात त हुने होइन भन्ने हामीलाई गहिरो चिन्ता लागेको छ । यो जटिल परिस्थितमा हामी नेपालका सबै राजनीतिक दल, आन्दोलनका उत्रिएका राजनीतिक पक्ष तथा समूह, सरकार, नागरिक अगुवा र आम नेपाली जनतासँग संयमता अपनाउन, कुनै पनि भड्किला व्यवहार नदेखाउन र सद्भाव कायम गर्न हार्दिक अपिल गर्दछौँ।’

सम्बन्धित शिर्षकहरु