अष्ट्रेलिया, कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टलाई अष्ट्रेलियामा सम्मान गरिएको छ । अष्ट्रेलियामा रहेको सुदुरपश्चिमान्चल समाजले उनलाई सम्मान गरेको हो । अष्ट्रेलियामा बसोबास गर्ने सुदूरपश्चिमका नौ जिल्लाका मानिसहरू संस्थामा आवद्ध छन् । सम्मानित भएकोमा खुसी व्यक्त गर्दै विष्टले आफू नेपालका लागि केही गर्न चाहेको बताएको संस्थाका संस्थाका सचिव लक्ष्मी जोशीले असनेपालन्यूजलाई जानकारी दिए ।

उनका अनुसार विष्टले नेपालका बालबालिकाहरूको खेलकुदको विकासका निम्ति आफू क्रियाशील रहेको बताउँदै त्यसका लागि प्रवासमा रहेका नेपालीहरूले सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
त्यस्तै उनले आफूलाई सम्मानित गर्नु खेल क्षेत्रको विकासका लागि प्रवासीहरूले सहयोग पुर्याएको भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रम सिड्नी स्थिति अन्नपूर्ण रेष्टुरेन्टमा भएको थियो ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाकी संरक्षक इन्द्रा वन, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, पत्रकारहरू तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा संरक्षक बन र अध्यक्ष सिग्देलले विष्टले नेपाली खेल क्षेत्रमा पुर्याएको योगदान र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको लगायतका विषयहरू चर्चा गरेका थिए ।
विष्टले सन् १९९० को सुरूवात देखि नै खेल क्षेत्रमा आवद्ध भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिएका छन् ।
पीछिडिएको जिल्लाका मानिसहरूलाई एकतावद्ध गर्न संस्था क्रियाशील रहेको संस्थाका सचिव जोशीले जानकारी दिए । संस्थाले भूकम्प पीडित, दार्चुलाको बाढी पहिरो पीडितहरूका लागि र शिक्षा क्षेत्रमा सहयोग पुर्याइरहेको छ ।संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरू , एन आर एन अस्ट्रेलियाका पुर्व महासचिव भरत पोख्रेल , स्टेट कोअर्डिनेटर दिनेश जोशि , संचारकर्मि ॠषि आचार्य लागायत विभिन्न ब्यक्तिहरूले विस्टलाई शुभकामना दिंन्दै कार्यक्रमको औचित्यताम्याथि आ-आफ्नो धारणा राखेका थिए ।







