‘भाग्यले बाँचेकाहरु’ अष्ट्रेलियाका विभिन्न शहरमा

अष्ट्रेलिया,  विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर पत्रकार गणेश पाण्डेले बनाएको ‘भाग्यले बाँचेकाहरु–मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक’ नामक डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।

आगामी आइतबार ९ अगष्टका दिन सिड्नीको हस्र्टभिलस्थित सिभिक थियटरमा प्रदर्शन हुन लागेको हो । दिउँसो ३ बजेदेखि बृत्तचित्र प्रदर्शन गर्ने तयारी भएको छ । यस्तै सोमबार मेलबर्नको ईस्टोनियन हाउसमा साँझ ६ः३० बजे प्रदर्शन हुँदैछ भने पर्थमा आगामी ११ अगष्टको दिन साँझ ६ बजेपछि स्टेट लाईब्रेरी अफ वेष्टर्न अष्ट्रेलियामा आयोजना हुँदैछ ।

५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । पत्रकार पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ ।

बृत्तचित्र प्रदर्शनका लागि स्वयं निर्देशक पाण्डे नै अष्ट्रेलियामा उपस्थित भएका छन् । उनले भने, डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ । काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । निर्देशक पाण्डेका अनुसार पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि डकुमेन्ट्रीमा बेजोड रुपमा उतारिएको छ । -दैनिक नेपालको सहयोगमा

सम्बन्धित शिर्षकहरु