साउन १४ । पोखरा, गए राती अविरल वर्षापछिको पहिरोले कास्कीका भदौरे र लुम्ले गाविसमा आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २० नाघेको छ ।
पहिरोमा १७ जना घाइते भएका छन्। कास्कीका डीएसपी केदार रजौरेका अनुसार भदौरेतामागिमा ५ र लुम्लेमा १५ गरी २० जनाको मृत्यु भएको छ। भदौरेतामागीमा ४ जना र लुम्लेमा १४ जना बेपत्ता रहेको रजौरेले जानकारी दिए। घाइते ३ जनालाई उपचारका लागि पोखरा पठाइएको छ।
प्रहरीका अनुसार भदौरेतामागीमा मृत्यु हुनेमा ६५ वर्षीय टीकाराम विक, ५५ वर्षीया रामुकुमारी विक, ३१ वर्षीया गौरी पराजुली, ७ वर्षीय करण पराजुली, र ६५ वर्षीया नन्दकली पराजुली छन्।
लुम्लेमा मृत्यु हुनेको सनाखत भइसकेको छैन। उद्धारका लागि भदौरेतामागी पुगेका रजौलेले बेपत्ताको खोजी भइरहेको जानकारी दिए। भदौरेमा १३ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ। भिषण वर्षापछि आएको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। मध्यरातमा आएको पहिरोले घर बगाएको छ।
घाइतेको खोजी भइरहेको छ। उद्धारका लागि हेलिकोप्टर जाने तयारी भए पनि अवतरणका लागि ठाउँ नहुँदा समस्या भएको छ। पोखरा–बागलुङ राजमार्गसँग जोडिएको लुम्ले जाने मार्गसमेत पहिरोले अवरुद्ध हुँदा समस्या भएको छ।








