साउन ८ । भक्तपुर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका राय सुझावका आधारमा संविधानको मस्यौदामा हेरफेर हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज बालकोटस्थित ओली निवासमा नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख हुनुपर्ने माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै उनले यस्तो धारणा राखेका हुन्।
संविधानको प्रारम्भिक मस्यौदामा अपेक्षा गरेभन्दा उत्साहपूर्ण रुपमा सुझाव आएको चर्चा गर्दै उनले आवश्यकता र औचित्यका आधारमा जनताको सुझावलाई समेटिने बताए ।
जनताको सुझाव १६ बुँदेमा नभई मस्यौदामा आए पनि अहिले केहीले १६ बुँदे संशोधन हुनुपर्छ भन्ने अनावश्यक बहस चलाएको बताउँदै उनले अब पनि संविधान नबने १० वर्षपछिसम्म संविधान नबन्ने बताए ।
एमाले अध्यक्ष ओलीले भने —“१६ बुँदेले नै दलहरुलाई सहमतिमा ल्याउँदै संविधान निर्माणको बाटो खोलेको हो, अब त्यसको विरोध गर्नुको कुनै औचित्य छैन ।”
संविधानको मस्यौदामा सेनाको विषयमा विशेषखालको व्यवस्था हुनुपर्ने उल्लेख गर्दै उनले सेनाले नागरिक सर्वोच्चता स्वीकारेर अगाडि बढ्नुपर्ने जिकिर गरे ।
अध्यक्ष ओलीले भने —“नेपाली सेनाले वर्गको हितका हिसाबले सुझाव दिएको छ, तर यसबारे संविधानसभाले निष्पक्ष निर्णय गर्दछ ।”
धार्मिक स्वतन्त्रताका सवालमा धर्मनिरपेक्ष भन्ने शब्दावली उपयुक्त नभएको बताउँदै त्यसमा परिमार्जन गर्न सकिने उनको भनाइ थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकप्रति लक्ष्य गर्दै ओलीले भने—“दुलोभित्रबाट साँपहरु मुन्टो बाहिर ल्याएर दाउ हेर्दैछन् तर उनीहरुको इच्छा अब पूरा हुँदैन ।”
प्रत्यक्ष निर्वाचित कार्यकारी, सङ्घीयतामा कति प्रदेश हुने भन्ने विषयमा जनताले कम प्रदेश बनाउन सुझाव दिएकाले उक्त विषयमा परिमार्जन हुने सङ्केतसमेत ओलीले गरे।
नामाङ्कन, सीमाङ्कनका सवालमा भने अहिले नै निर्णय नहुने र संविधान जारी भएको मितिले छ महिनाभित्रमा उक्त कुराको समेत टुङ्गो लाग्ने उनको भनाइ छ ।








