अष्ट्रेलिया, गएको वैशाख १२ को विनासकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका संरचनाहरू पुनर्निर्माण गर्न देश विदेशबाट सहयोग उठ्ने क्रम जारी छ । नेपाल सरकारले पुनर्निर्माण प्राधिकरण गठन गरी बिग्रे भत्किएका संरचना निर्माणमा ध्यान केन्द्रित गरेपछि प्रधानमन्त्री राहत कोशमा पैसा जम्मा हुने क्रमले पनि तिव्रता पाएको छ । त्यस्तै प्रवासी नेपालीहरूको सवैभन्दा ठूलो संस्था गैर आवासीय नेपाली संघले पनि यसमा चासो देखाएको छ । त्यसो त एनआरएन अध्यक्ष शेष घललेलाई सरकारको विशेष दूत नै नियुक्त गरेको छ ।

यता भूकम्पबाट खण्डहर बनेका संरचना निर्माणका लागि युवा आफैँ पनि उत्तिकै सक्रिय बन्न थालेका छन् । यसक्रममा अष्ट्रेलियाका कामको सिलसिलामा रहेको केही युवाहरूले निकै प्रशंसनीय काम थालेका छन् । यसरी सहयोगका लागि जुट्न्मा स्याङ्जाका भविश्वर पौडेल, पर्वतका केशव गौतम, रुपन्देहीका महेश्वर शर्मा, पोखराका सुरज बस्याल र काठमाडौंका साजन रायमाझी छन् । उनीहरूले अष्ट्रेलियामा आफूले कामगर्ने होटलमा काम गरे बापत पाएको टीप्ससमेत भूकम्प पीडितको राहतका लागि प्रयोग गरेका हुन् ।
न्यूटाउनको स्थित किंग स्ट्रीटमा रहेको पाष्टिजी क्याफेमा काम गर्ने उनीहरूलाई क्याफे सञ्चालकले पनि हात हात मिलाएका छन् । क्याफे सञ्चालक लेन्नी रोस र डेब्बी रोशले उनीहरूको प्रयासमा साथ दिएका छन् । केही दिन अघि मात्रै ती युवाहरूले एनआरएन अष्ट्रेलियाकी सरंक्षक इन्द्रा वन मार्फत पीडितलाई पुर्याउन चार हजार डलर रकम हस्तान्तरण गरे । नेपालको पीडामा सघाउन पाउँदा क्याफेका सञ्चालकहरूले आफू निकै खुसी भएको बताएका थिए । ‘हामी यहाँ एउटै परिवार जस्तो भएर बसेका छौँ’, उनीहरूले भने ‘नेपाल अहिले पीडामा छ एउटै परिवार जस्तो भएर बसका कारण उनीहरूको दुःखमा सघाउनु हाम्रो कर्तव्य पनि हो ।’
सो अवसरमा बोल्दै संरक्षक इन्द्रा बनले सानो सहयोग नेपालको पीडा कम गर्न पर्याप्त हुने बताइन् । ‘हामीले थोरै थोरै रकम संकलन गरेर करिब ११ लाख डलर भूकम्प पीडितको लागि अष्ट्रेलियाबाट संकलन भइसकेको छ’ उनले भनिन् ‘सवैले यसैगरी आ–आफ्नो ठाउँबाट सहयोग जुटाउन लाग्ने हो भने त्यो महत्वपूर्ण हुनेछ ।’
उनले एनआरएनए स्वयंसेवी संस्था भएकाले र यसको प्रशासनिक लागत पनि शून्य रहेका कारण एनआरएनमार्फत सहयोग गर्दा वास्तविक पीडितहरूसम्म धेरैभन्दा धेरै रकम पुग्ने बताइन् । एनआरएनए अष्ट्रेलियाले हाल सम्म आठ लाख संकलन गरी आईसीसीको भूकम्प पीडित राहत कोषमा जम्मा गरिसकेको छ ।







