साउन १ । काठमाडौँ, विश्व ट्वान्टी–२० छनोटमा आफ्नो उद्देश्यलाई कायम राख्न नेपालका लागि पपुवा न्युगिनीसँगको खेलमा जित अनिवार्य रहेको छ । नेपालसँग शुक्रबार आयरल्यान्डको डब्लिनमा उत्रँदा पपुवा न्युगिनीको उद्देश्य समूहको शीर्षस्थान हत्याउनु हुनेछ ।
नेपालको कमजोर प्रदर्शन कायम छ । बुधबार हङकङसँग ५ विकेटको पराजयपछि नेपाल प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । ४ खेलमा नेपालको त्यो दोस्रो हार थियो । त्यही पपुवा न्युगिनीले दाबेदार आयरल्यान्डलाई २ विकेटले पराजित गरी प्रतियोगितामा सनसनीपूर्ण नतिजा निकालेको थियो ।
समूह ‘ए’ मा आयरल्यान्ड ६, पपुवा न्युगिनी ५, नामिबिया ३ र हङकङ ३ अंकसहित पहिलो चार स्थानमा छन् । ३ अंक नै भए पनि नेपाल रन रेटमा नामिबिया र हङकङभन्दा पछाडि छ । समूहको शीर्ष चार टिम दोस्रो चरणमा पुग्छन् । त्यसमा विजेता टिम सोझै विश्वकपमा छनोट हुन्छ ।
नेपाल र पपुवा न्युगिनी यसै प्रतियोगितामा तीनपटक आमनेसामने भइसकेका छन् । त्यसमा नेपाल २–१ ले अगाडि छ । २०१२ मा पपुवा न्युगिनीले नेपाललाई ३५ रनले पराजित गरेको थियो । प्लेअफमा नेपालले ६ विकेटको जित हात पारी त्यसको बदला लिएको थियो ।
नेपालले २०१३ को संस्करणमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको थियो । विनोद भण्डारीले १ चौका र ६ छक्का प्रहार गरी २३ बलमा नटआउट ५१ रन बनाएपछि नेपालले १ सय ४१ रनको लक्ष्य १० बल अगाडि पूरा गरेको थियो । तर ९ टान्टी–२० अन्तर्राष्ट्रिय खेलमा २७ रनमात्र बनाउन सकेपछि विनोदलाई हङकङसँगको खेलमा ‘ड्रप’ गरिएको थियो ।
त्यसैले उनको स्थान अहिले टिममा सुरक्षित छैन । ओपनिङमा नेपालको समस्या जहाँको त्यही छ । हङकङसँग सुवास खकुरेललाई प्रतियोगितामा पहिलोपटक खेलाइएको थियो । फर्ममा नरहेका सुवास २ रनमै आउट भएपछि नेपालको कमजोर ब्याटिङ फेरि उदाङ्गिएको थियो । ओपनरका रूपमा ल्याइएका सागर पुन, अनिल मण्डल कोही पनि चल्न सकेका छैनन् । यस्तोमा नेपालले युवा अलराउन्डर सिद्धान्त लोहनीलाई पहिलोपटक मौका दिने सम्भावना पनि रहेको छ ।
आयरल्यान्डसँगको खेल पपुवा न्युगिनीको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो खेल थियो । एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय दुवै पहिलो खेल जित्ने अस्ट्रेलियापछिको कीर्तिमान बनाएको थियो पपुवा न्युगिनीले । आफ्नो पहिलो खेलमा जर्सीलाई पराजित गरेको पपुवा न्युगिनीको त्यसपछि हङकङसँगको खेल वर्षाले रद्द भएको थियो ।








