सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाली बालबालिकाहरुलाई नेपाली नृत्य सिकाउँदै आएकी सविता लामाले सन् २०१५ को ब्याङ्स कम्युनिटी भोलेन्टिएर अवार्ड हात पारेकी छिन्।
बुधवार मोर्टडेल आरएसएलमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका संघिय सञ्चार मन्त्री माल्कम टर्नबुल र ब्याङ्स क्षेत्रका संघिय सांसद डेविड कोलम्यानले संयुक्त रुपमा अवार्ड वितरण गरेका हुन्।
दक्षिण पश्चिम क्षेत्रका करिब तीन सयभन्दा बढी सामुदायिक संस्थाहरुका प्रतिनिधिहरुमाझ उनले उक्त अवार्ड ग्रहण गरेकी थिइन् ।
अवार्ड जितेपछि खुसी हुँदै समुदायको काममा झन् सक्रिय हुन प्रेरणा मिलेको बताइन् ।
अष्ट्रेलियामा भर्खरै बसाई सरेका र यही जन्मे हुर्केका नेपाली बालबालिकाहरुलाई आफ्नो संस्कृति र परम्परा सिकाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको कारण लामालाई उक्त सम्मान प्रदान गरिएको हो ।
प्रत्येक आइतबार बिहान नेपाली मुलका २५ जना बालबालिकाले लामासँग नेपाली नृत्य सिकिरहेका छन् ।
सेन्ट जर्ज माइग्रेसन रिसोर्स सेन्टरले लामालाई अवार्डका लागि नोमिनेसन गरेको थियो । सेन्टरले नेपाली समुदाय लक्षित गरेर बसोवास, स्वास्थ्य, रोजगारी, शिशु स्याहार, महिला युवा र बृद्ध बृद्धा सामाजिक समुह, साप्ताहिक योग कक्षा संचालन गरिरहेको छ ।
नेपाली समुदायको बाक्लो बसोवास रहेको काल्टन, अलवा, हर्सभिल, पेन्सहस्ट, पिकस्ट, रिभरवड, पेस्टो, रिभ्सी, मोर्टडेल, नारावि र बेभरली हिल्स सवअर्वहरु ब्याङ्स क्षेत्रमा पर्दछन् ।सौजन्य: नेपाली पत्र ।








