असार २५ । चितवन, चितवनको रत्ननगर नगरपालिकामा अघिल्लो वर्ष भित्रिएको नयाँ प्रविधिको सुविधायुक्त दमकल चलाउनै मुस्किल भएपछि उपयोगविहीन जस्तै भएको छ ।
दक्ष प्राविधिक तथा त्यसमा चाहिने आवश्यक रासायनिक पदार्थको अभावमा उक्त दमकलको भरपुर उपयोग हुन सकेको छैन । जसका कारण सामान्य आगलागीबाहेक अन्य काम हुन सकेको छैन ।
रोटरी क्लबको पहलमा बेलायतमा रहेको डिभोन एन्ड समरेस्ट फायर रिसोर्स सर्भिसले नगरपालिकालाई दमकल सहयोग गरेको हो । आगो निभाउन प्रयोग गर्नुपर्ने फोम नामको रासायनिक पदार्थ प्रयोग नहुँदा उक्त दमकलले प्रभावकारी काम गर्न नसकेको हो । जम्मा ५०० लिटर मात्रै पानी राख्न मिल्ने दमकल भएकाले यति थोरै पानीको सहारामा मात्रै आगो निभाउन सकिँदैन । अन्य दमकलमा तीन–चार हजार लिटर पानी हुन्छ । प्रभावकारी बनाउन यसमा फोम नामको विशेष पदार्थ प्रयोग गर्नैपर्छ ।
विशेष प्रकारको ग्यास प्रयोग गर्दा ठूलो क्षेत्रमा लागेको आगो निभाउन सकिने भए पनि प्राविधिकको अभावमा ग्यास प्रयोगमा ल्याउन नसकिएको नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिए ।
रत्ननगरले चलाउन मुस्किल देखेपछि अहिले प्रमुख जिल्ला अधिकारीलाई सो विषयमा जानकारी गराएको र जिल्लालाई नै चलाउन दिने तयारी गरेको छ । सशस्त्र प्रहरी वा विपद् समितिले प्रयोग गर्न सके प्रभावकारी हुने रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश ढुङ्गानाले बताए।
सो दमकलबारे गम्भीर छलफल गरेर अघि बढ्नुपर्ने देखिएको नगरपालिकाका लेखा प्रमुख सीताराम पोखरेल बताउँछन् ।








