सुन्दर शिरीष
२४ असार। चौतारा, जिल्लामा राहत वितरण तथा भूकम्प पीडित परिचय पत्र वितरणमा राजनीति भएको खुलासा भएको छ ।
राहत वितरण तथा पीडित परिचय पत्र वितरण गर्ने निकाय गाउँ विकास समितिका सचिवहरुले नै खुलेआम राजनीति गरेपछि पीडितहरु थप पीडामा परेका छन् । प्रसङ्ग भोटसिपा गाविसको हो । सो गाविसका सचिव तथा गाविस सचिव हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष समेत रहेका दुर्गा ढुङ्गेलले आफू निकटका व्यक्तिहरुलाई मात्र परिचय पत्र तथा राहत वितरण गरेपछि स्थानीय आक्रोशित भएका छन् ।
‘आपूm निकटका व्यत्तिहरुलाई घर पूर्ण क्षति नभए पनि गाविस सचिवले परिचय पत्र दिएका छन्’, भोटसिपा– ८ का केदार भट्टराईले भने– ‘आफ्नो पार्टीनिकट बेगरका व्यक्तिहरुको भने घरबारविहिन भएकाहरुलाई पनि परिचयपत्र दिईएको छैन ।’ सचिवले परिचय पत्र वितरणमा ठाडो राजनीति गरेपछि आफूहरु थप पीडित हुनुपरेको उनले सुनाए ।
एक साता अघिदेखि सो गाविसमा परिचय पत्र वितरण गर्ने काम सुरु गरिएको भएपनि वितरण भने सम्पन्न हुन सकेको छैन । ढुङ्गेलले राजनीति गरेको भन्दै पीडित सबैलाई परिचय पत्र नदिएसम्म आफूहरुले पनि नलिने भन्दै केहि स्थानीयले परिचय पत्र लिन मानेका छैनन् ।
‘मेरो नामै किटेर ढुङ्गेलले तँलाई परिचय पत्र दिन्न भने’, अर्का स्थानीय दिपक भट्टराईले प्रश्न गरे– ‘मेरो घरबार सबै भूकम्पमा ध्वस्त भएको छ, के म पीडित होईन र ?’ आफूले सम्पूर्ण कागजात लिएर पटक–पटक ढुङ्गेललाई भेट्दा पनि परिचय पत्र नदिएको उनले बताए । ‘सिडिओकोमा गए पनि, अख्यिारमा गए पनि मलाई केहि फरक पर्दैन भनेर उनले फर्काए’, उनले भने । राजनीतिक आश्थाकै आधारमा ढुङ्गेलले परिचय पत्र नदिएको उनले दाबी गरे ।
सचिव ढुङ्गेल एमाले निकटका हुन् । परिचयपत्र विरणमा राजनीतिक दलको पनि सहभागिता छ । तर, राजनीतिक संयन्त्रको निर्णयलाई समेत नमानि ढुङ्गेलले मनोमानी ढंगले परिचय पत्र वितरण गरेका छन् । ‘हामी त स्थानीय हौं, यहाँ कसको घर पूर्ण क्षति छ, को पीडित हो हामीलाई थाहा छ’, सर्वदलिय संयन्त्रका एक सदस्यले भने– ‘तर सतिवले हाम्रो निर्णलाई समेत वेवास्था गरि मनोमानि ढंगले परिचय पत्र वितरण गरेका छन् ।’ उनको अनुसार भोटसिपामा एमाले र कांग्रेस बलियो छ । त्यसकै आडमा दुई पार्टी निकट अन्य राजनीतिक दलमा आश्था राख्नेहरुलाई ढुङ्गेलले परिचय पत्र दिन आनाकानी गरेका हुन् ।
स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु वडा नागरिक मञ्चका अध्यक्ष तथा गाविस सचिवको दादागिरीका कारण वास्तविक भूकम्प पीडितले राहत पाउन सकेका छैनन् । भोटसिपाका ७०, ८० पीडितले अझै परिचय पत्र पाएका छैनन् । भूकम्प पीडित परिचय पत्र निर्देशिका विपरित सचिवले काम गरेको भन्दै सो गाविसका पीडितहरुले ढुङ्गेल बिरुद्ध उजुरी गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
सरकारले जारी गरेको आवास निर्देशिकालाई आधार मानेर परिचय पत्र वितरण गरेको दावी गर्न पछि नपर्ने गाविस सचिव र केहि भ्रष्ट राजनीतिक दलका प्रतिनिधिहरुले आफ्ना पक्षकालाई भने एउटा घर भत्कने परिवारलाई पनि चारवटा घर र दाजुभाई भिन्न पारेर राहत वितरण गरेका छन् ।
यो प्रतिनिधि घटना मात्र हो । जिल्लाका अन्य गाविसमा पनि यस्तै समस्या देखिएको छ । सिपापोखरे, बाँडेगाउँ लगाएतका गाविसहरुमा पनि परिचय पत्र वितरणमा राजनीति भएको स्थानीयले बताएका छन् । बास्तविक पीडितले राहत तथा कार्ड नपाउने र अरुले पाउनेको संख्या ठूलो छ ।
यता राहत रकम र परिचय पत्र वितरणमा निर्देशिका विपरीत काम भएको भए त्यस्ता सचिवलाई तत्काल कारबाहि गरिने जिल्ला दैवी प्रकोप उद्दार समितिले बताएको छ । उद्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भने– ‘निर्देशिका विपरीत काम भएको विषयमा अध्ययन हुन्छ, यदि गलत निर्णय भएका छन् भने सचिव, र सम्बन्धित पक्षलाई कारबाही हुन्छ ।’
उनले बास्तविक पीडितहरुले पाउने तत्कालीन राहत तथा परिचय पत्र वितरणको दुरुपयोग गम्भिर रहेको समेत बताए । उनले दलका जिल्ला नेताहरुले समते त्यस्ता गतिविधि सञ्चालन नगर्न आफ्ना कार्यकर्तालाई आग्रह गरे ।








