सेतीको कटानबाट भिमादका ५० घर खतरामा

असार २३। दमौली, सेतीनदीमा बर्सेनि हुने कटानका कारण तनहुँको भिमाद बजारका ५० भन्दा बढी घर खतरामा रहेका छन् ।

सेती नदीले बर्सेनि कटानी गर्दै जाँदा ती घर खतरामा परेका हुन् । बर्खायाम सुरु भएपछि आफूहरुको भोक र निन्द्रा हराउने गरेको त्यहाँका बासिन्दा बताउँछन् ।

बजेट अभावले नदी नियन्त्रण गर्न नसक्दा ती घर खतरामा रहेको सेतीनदी नियन्त्रण तथा बजार व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर जोशीले बताए।

यस वर्ष सांसद विकास कोषबाट प्राप्त भएको रु एक लाख ४५ हजार र ६० हजार आन्तरिक स्रोतबाट गरी रु दुई लाख पाँच हजारमा २५ वटा तारजाली भर्ने काम भएको जानकारी उनले दिए ।

आवश्यक तटबन्धनका लागि राष्ट्रिय योजना आयोग र जलस्रोत मन्त्रालयमा राष्ट्रियस्तरको योजना माग्ने कामसमेत भइरहेको जोशीले बताउनुभयो ।
अहिलेसम्म पटकपटक गरी रु २५ लाख नदी नियन्त्रणका लागि खर्च भए पनि सोचेअनुसारको काम हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

रडसहितको आरसिसी वाल उठाउन रु १५/२० करोड लाग्ने भएकाले सो रकम केन्द्रीयस्तरबाट माग्ने काम भइरहेको समितिका सचिव राजु परियारले बताए ।

सम्बन्धित शिर्षकहरु