असार २१ । काठमाण्डौ,काठमाडौंको सतुंगलमा सडकमा हिँडिरहेको भैंसीसँग मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।सतुंगलबाट कलंकीतर्फ आउँदै गर्दा सोमबार विहान सडकमा हिँडिरहेको भैंसीसँग मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । बा २६ प ४७३७ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठमाडौँ महानगरपालिका-१६ सानोभर्याङ बस्ने ३० बर्षीय सुजन धमलाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भइ शहिद मेमोरियल अस्पताल कलंकी लगिएकोमा उहाको उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका धादिङ कल्याणपुर-९ बस्ने ४० वर्षीय मदन सिंखडाको सोही अस्पतालमा उपचार भइरहेको छ । भैंसी धपाउने व्यक्ति र भैंसीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैगरी काठमाडौं महानगरपालिका-१३ बाफल नारायणी पेट्रोलपम्प अगाडि आइतबार राति नम्वर खुल्न नसकेको टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । नाम, थर वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार टिपर र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।








