अष्ट्रेलिया, एनआरएनए अष्ट्रेलियामा अ
ध्यक्षमा पराजित भएका भरत पोखरेलले आफूले बिगतको नेतृत्वको कार्यशैली प्रतिको असन्तुष्टिका कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको बताएका छन् । पोखरेलले शनिबार सम्पन्न एनआरएनए अष्ट्रेलियाको निर्वाचना सुरेन्द्र सिग्देलसँग अध्यक्ष पदमा पराजित भएका थिए । पराजयपछि सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै पोखरेलले प्रतिकुल मौसमको बाबजुद प्रजातान्त्रिक अभ्यासको हिस्सा बन्ने सवैलाई धन्यवाद समेत दिएका छन् । उनले स्ट्याटसमा लेखेका छन्– ‘ प्रतिकुल मौसमको बाबजुद अष्ट्रेलिया भरि नै जुन किसिमको मतदानमा उत्साहजनक सहभागिता रह्यो, त्यसले यो संस्था प्रतिको जनमानसमा चासो देखिन्छ । त्यसभन्दा पनि सुरेन्द्र सिग्देल जी र उहाँको समुहले अस्ट्रेलिया भरि पाएको भारी मतले उहाँको नेतृत्वप्रति जनमानसको आशा, बिश्वास एनआरएनए अष्ट्रेलिायको बिगतका कार्यशैलीप्रतिको असन्तुष्टि र परिवर्तनको चाहना झल्कन्छ ।’
त्यस्तै उनले बिजयी सम्पूर्ण उम्मेदवारहरूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत दिएका छन् ।
यस्तै उनले अगाडि लेखेका छन्– ‘चुनावी राजनीति र रणनीति मेरा सवल पक्ष हैनन् तर पनि म कम्तिमा आफु हारे पनि, समाजमा योगदान गरिसकेका र भविष्यमा एनआरएनए अष्ट्रेलियाको नेतृत्व गर्न सक्ने केहि युवाहरूलाई जिताउन सफल हुने विश्वासमा थिएँ । त्यसमा म असफल रहेँ । मलाई चुनावी अभियानमा सघाउने सम्पूर्ण अग्रजहरू मित्रहरु अनि भाइबहिनीहरूप्रति मेरो श्रद्धा र स्नेह छ । उहाँहरूलाई आगामी दिनमा मेरो सर सहयोग अवश्य रहने छ । आगामी दुई वर्षको अलि बढी समय म श्रीमती परिवार र व्यवसायलाई दिनेछु । सुरेन्द्र जी को आगामी कार्यकाल सफल रहोस् र यसमा मेरो तर्फबाट पूर्ण सहयोग रहने बिश्वास दिलाउन चाहन्छु ।’








