सिड्नी, गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन प्रक्रिया मध्यतिर पुगिसकेको छ । चुनावी मैदानमा नेपाली समूदायबीचमा प्रगाढ मित्रता र हार्दिकता देखिएको छ । स्थानीय समायानुसार विहान ८ बजे देखिनै नेपालीहरू सबै राज्यका तोकिएका मतदान केन्द्र वरपर भेला भइसकेको थिए । आम अष्ट्रेलियाबासी नेपाली समूदायमा नयाँ नेतृत्व को चुनिएला भन्ने ब्यापक उत्सुकतापनि देखिएको छ । जो निर्वाचित भए पनि मिलेरै नेपाली समुदायको सेवा गर्ने उम्मेदवारहरूले प्रतिबद्धता पनि जनाएका छन् ।
यसपटकको निर्वाचनमा अध्यक्षका उम्मेदवार बनेका भरत पोखरेल र सुरेन्द्र सिग्देल दुबैले सबै मतदाताहरूलाई आफुलाई मतदान गर्न अपिल गरिरहेका छन् ।
सिड्नी स्थित अधिवेशन स्थलमा भेट भएका ति दुवै आकांक्षीले एक अर्कालाई शुभकामना समेत दिए ।
यता स्वयंसेवकहरू मतदाताहरूलाई ब्यवस्थित रूपमा निर्वाचनमा सहभागि हुन सहयोग गरिरहेका छन् । अध्यक्ष प्रत्यासी भरत पोखरेलसहित उनको समूह आफूलाई नेपाली समुदायको स्वयंसेवक भएको जनाउने गरी गत महाभूकम्पका बेला गैर आवासीय नेपाली संघका स्वयंसेवकहरूले नेपालमा पहिरिएको जस्तै सुन्तला रंङको ज्याकेट लगाएरै चुनावी मैदानमा उत्रिएका छन् ।
त्यसैगरी अर्का प्रत्यासी सुरेन्द्र सिग्देल परिपक्व नेताका रूपमा औपचारीक पोशाक सहित मैदानमा देखा परेका छन् । यद्दपी उनको समूहले निर्वाचनको मैदानमा पुगे लगत्तै प्रतिपक्षी समूहको सिको गर्दै गाढा निलो रंङको भेष्ट पहिरिएको छ । मध्यान्ह २ बजेसम्म दुई हजार भन्दा बढी मतदाताले मतदान गरिसकेका छन् ।
सिड्नी स्थित ग्रानभिल पार्कमा हजारौं नेपालीहरूको उपस्थिति देख्दा उक्त पार्क शनिबार नेपालमय भएको भान हुन्छ । उमेद्वारका प्रचारकहरूले उमेद्वारका ठूलठूला होडिङ बोर्डहरू ठड्याएका छन् ।
६ वटा राज्यमा भैरहेको निर्वाचनमा २ वटा समूह प्रतिष्पर्धामा छन् । सामाजिक संजालहरूमा एनआरएन सुद्धिकरण अभियानको नाममा राम्रा उमेद्वारहरू जिताउ र राम्रा नितिहरू निर्माण गरौं भन्ने प्रचार पनि भैरहेको छ ।
निर्वाचनका बेला हुने ब्यक्तिगत गालीगलौजलाई नेपालीहरूले खारेज गरेका छन् ।
तर स्वस्थ आलोचना भने भैरहेको छ । मेलर्वनमा रहेका लोकराज पौडेल लेख्छन् ‘झन्डै ७० हजार नेपालीहरू रहेको अष्ट्रेलियाको ६ राज्यमा एकैसाथ ५ हजार मतदाताले भोट दिँदैछन कति हास्नु । सुनेको थिए अफ्रिकन मुलुकमा १०५ गोराहरूले ९०५ कालाहरू माथी शासन गर्थे भनेर तर यहाँ त त्यो भन्दा पनि झनै बिजोग भयो ।’
गैर आवाशीय नेपाली संघको नेपाल सरकारले नै निर्माण गरिदिएको विधान अनुसार अष्ट्रेलियामा भएका हजारौं बिद्यार्थीहरू गैह्र आवाशीय नेपाली संघका सदस्य बन्न पाएका छैनन् ।
पश्चिम अष्ट्रेलियाको पर्थमा उपाध्यक्ष पदमा निबिरोध निर्वाचित भैसकेका दीपक शर्मा भन्छन् ‘हारलाई पनि स्वीकार गर्नु त्यही हुन्छ जीत । एन आर एन अष्ट्रेलियाको २०१५–१७ को कार्यसमितिको लागि भइरहेको निर्वाचनमा सबै मतदाता अनि उम्मेदवारहरू मा सफलताको लागि शुभकामना ! अष्ट्रेलियाभरी आजको निर्वाचनमा निश्पक्ष अनि नेपाली एकता र सदाचार झल्केको देख्न पाइयोस । जस्ले जिते पनि एक जना नेपालीले जित्ने हो र जो हारे पनि एक जना नेपाली हार्ने हो । जित र हार भनेको एक अर्काको परिपुरक मात्र हुन’ उनले लेखेका छन् ।
अघिल्लो निर्वाचनमा अध्यक्षका उम्मेदवारभई पराजित भएका महेन्द्र कुमार लम्सालले आफ्ना तत्कालीन प्रतिद्धन्दी महेन्द्र वली, बर्तमान उमेद्वारहरू भरत पोखरेल र सुरेन्द्र सिग्देलको फेसबुक वालमा आफ्नो अनुभूति यसरी बाडेका छन् ‘ठीक २ वर्ष अगाडिको कुरा हो, एनआरएनए अष्ट्रेलिया २०१३–१५ कार्यसमितीका लागि हुँदै गरेको निर्वाचन एउटा उत्कर्षमा पुग्दै गरेको बेला हामी अध्यक्षका दुई प्रतिस्पर्धी म र महेन्द्र ओली चुनाव जस्ले जितेपनि मिलेरै काम गर्ने वाचा गरेका थियौँ र गयौँ पनि । आज हुँदै गरेको एनआर एनए अष्ट्रेलियाको निर्वाचनमा पनि यस्तो सौहार्दता र सद्भाव सबै उम्मेदवार र समर्थकहरूमाझ झल्कियोस। जती झगडा गरेपनि आखिर हामी सबै एउटै आमा नेपालकै सन्तान हौ भन्ने यथार्थ नभुलौँ
यसैबीच ग्रानभिलमै रहेका हाम्रा सम्वाद दाता कृष्ण तिवारीका अनुसार तीन हजार मतदाता रहेको ग्रानभिलमा १६ सय मत खसिसकेको छ । दुई सय जति मतदाताहरू लाइनमा रहेका छन् । उनका अनुसार सो स्थानमा पार्किङको समस्या देखिएको छ। ‘मानिसहरू टाढा टाढा पार्किङ गरेर मत हाल्न आइरहेका छन्’, उनले भने ‘ नेपालबाट आउनु भएका बाआमाहरू नेपाली पोशाकमा सजिएर निर्वाचन हेर्न आउनु भएको छ ।’ अहिले ग्रानभिल नेपालमय भएको छ। म्तदान स्थल वरपर समर्थकहरूले तथा उम्मेदवार स्वयम्ले पनि खुलेआम सूची बाँडिरहेका छन् । त्यस्तै पर्थ, मेलवर्न, एडेलेक लगायतका स्टेटहरूमा पनि आधाभन्दा बढी मत खसिसकेको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
विद्युतीय मतदान र उम्मेदवारहरूको सूची लामो भएका कारण मत हाल्न एउटै व्यक्तिलाई एक घण्टा भन्दा बढी समय लागेको मतदाताहरूले बताएका छन् । मतदात साँझ ६ बजेसम्म चल्नेछ ।







