असार १५ । काठमाडौं,कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना किसानलाई आज राष्ट्रपति कृषक पुरस्कारबाट सम्मान गरिएको छ । कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत सरकारले यी किसानलाई सम्मान गरेको हो ।राष्ट्रिय धान दिवसको अवसरमा आयोजित यो कार्यक्रममा टिकापुर-७ कैलालीका कालु हमाललाई सर्वोत्कृष्ट किसानको सम्मान दिइयो । केरा व्यवसायी हमालले नगद २ लाख रुपैयाँ पाउनु भयो । यस्तै भिरगाउँ-१ धनकुटाका चन्द्रलाल तामाङ, लेखनाथ-२ कास्कीका छयामबहादुर थापा, सोरहवा-२ बर्दियाका छायादत्त भुसाल र चित्रवन-७ चितवनका प्रकाश पन्तले उत्कृष्ट किसानको सम्मान पाउनु भएको हो । तामाङ अलाईंची व्यवसायी, थापा बंगुर व्यवसायी, भुसाल माछा व्यवसायी र पन्त फूल व्यवसायी हुनुहुन्छ ।कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुली र मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले उनीहरुलाई सम्मान गर्नु भएको हो ।यसै बर्षदेखि सर्वोत्कृष्ट र उत्कृष्ट किसानलाई सम्मान गर्न सुरु गरेको हो ।








