स्थानीय निकायको चुनावको मिति तोक्न विकास समितिको निर्देशन

असार १४ । काठमाडौं, संसदको विकास समितिले तत्काल स्थानीय निकायको चुनावको मिति तोकेर काम सुरु गर्न सरकारलाई आग्रह गरेको छ । सरकारले राजनीतिक दलहरुबीच सहमति जुटाएर मात्रै स्थानीय निकायको चुनाव हुन सक्ने बताए पनि संसदको विकास समितिको सोमबारको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा स्थानीय निकायको चुनावबारे छलफल गर्न उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलाई बोलाइएको थियो ।
बैठकमा उपप्रधानमन्त्री समेत रहनु भएका स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको चुनावका लागि राजनीतिक सहमति पहिलो आवश्यकता रहेको बताउनु भयो । बैठकमा गृहमन्त्री गौतमले पनि स्थानीय निकायको चुनावमा राजनीतिक सहमति आवश्यक रहेको र राजनीतिक वातावरण भए मात्र चुनावमा सुरक्षाको प्रवन्ध मिलाउन सकिने दाबी गर्नु भयो।
बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त गुरुङले चुनावको मिति घोषणा गर्नुअघि आवश्यक नीति, सहमति र रिक्त पदाधिकारी नियुक्तिमा जोड दिनु भयो ।प्रमुख आयुक्त गुरुङले स्थानीय निकायको निर्वाचनका लागि आयोग सँधै तयार रहेको बताउनुभयो । उहाले निर्वाचन आयोगले ०७१ माघदेखि चैत मसान्तसम्म १८ वर्ष उमेर पुगेकाको मतदाता नावाली संकलन गर्ने काम पनि सम्पन्न गरिसकेको बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु