असार १४ । काठमाडौँ, सभापति सुशील कोइरालाले केन्द्रिय सदस्यमा मनोनित गरे लगत्तै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पार्टीले दिएको हरेक जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न अब्बल साबित भएका छन् । क्रियाशील सदस्यहरुको सवाललाई लिएर जिल्लामा देखिएको विवाद मिलाउन मात्र होइन विदेशमा जनसम्पर्क समितिको अधिवेशन भव्य रुपमा सम्पन्न गराउने जिम्मेवारी पनि शान्दार ढंगले पूरा गरेका छन् – नेता पौडेलले ।
पौडेलले आइतबार मकाउमा भएको कांग्रेसको भातृ संगठन नेपाली जन सम्पर्क समिति मकाउको दोस्रो अधिवेशन पनि जनसम्पर्क समिति विभाग प्रमुख अर्जुन जोशीसँगको समन्वयमा भव्य रुपमा सम्पन्न गराएका छन् । अधिवेशन सम्पन्न गर्न कांग्रेसले पौडेललाई केन्द्रिय प्रतिनिधिको रुपमा मकाउ पठाएको थियो । अधिवेशनले सुदर्शन थापा मगरको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । कार्य समितिको उपाध्यक्षद्धयमा सुन्दर भण्डारी र लेख बहादुर गुरुङ रहनु भएको छ ।
महामन्त्रीमा चण्डी योङगा चयन हुनु भएको छ । अध्यक्ष थापा मगर एनआरएन मकाउका अध्यक्ष पनि हुनुहुन्छ । पछिल्लो साता पौडेलकै पहलमा लामो समयदेखि नेपाली कांग्रेस सप्तरीमा देखिएको विवाद पनि समाधान भएको थियो । केन्द्रले समेत मिलाउन नसकेको यो विवाद पौडेलले मिलाएपछि उनको कार्य क्षमता देखेर शीर्ष नेताहरुले मात्र होइन कांग्रेसका देशभरीका कार्यकर्ताहरुले समेत उनलाई बधाई दिएका छन् । महाभूकम्पपछि पार्टीले सुरु गरेको पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यमा पनि पौडेलले उत्कृष्ट कार्य सम्पादन गरेका छन् ।
पौडेलको पहलमा गोर्खा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, चितवन, तनहुँ लगायतका जिल्लामा ४ सय ५० भन्दा बढी अस्थायी घर टहरा निर्माण भइसकेका छन् । त्यस्तै दर्जनौ स्कुलका लागि उनकै पहलमा भवन बनाइएको छ । देश विदेशमा रहेका आफन्त तथा शुभचिन्तकहरुको सहयोगमा पौडेलले महाभूकम्प प्रभावित जिल्लाहरुमा ७५ लाख भन्दा बढीको राहत सामाग्री समेत वितरण गरिसकेका छन् ।








