अष्ट्रेलिया, आगामी चार जुलाईका दिन हुन लागेको अष्ट्रेलिया एनआरएनको निर्वाचनका लागि बिनोद पौडेलले सदस्य पदमा संलग्नता बढाउनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । एनआरएनमा पीआर भएकाहरूले मात्रै प्रवेश पाउने तथा युवा र विद्यार्थीहरूको सवालमा एनआरएनले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेको बेलामा पौडेलले युवाहरूको पक्षमा ओझिलो मुद्धा उठाएका छन् ।
उनले आफूले एनआरएनमा बढी भन्दा बढी युवाहरूको प्रवेश हुनु पर्ने बताएका छन् । साथै युवाहरूले एनआरएनप्रति अपनत्व बोध हुने गरी कार्य सम्पादन गर्न सक्नु पर्ने पनि बताएका छन् । ‘युवाहरूले एनआरएनलाई आफ्नो संस्था हो भनेर भित्रैदेखि बुझ्न पाउन् उनले असनेपालन्यूजसँगको संक्षिप्त कुराकानीमा भने ‘यहाँका नेपाली विद्यार्थीहरूका लागि एनआरएनले केही भूमिका खेल्न सकेको छैन । आगामि दिनमा त्यस्ता गुनासो सुन्न नपाइयोस् । अर्को समूदाय र एनआरएनबीचको खाडललाई पुर्न र एकअर्काको परिपूरकको रुपमा विकास गराउने मेरो मुख्य लक्ष्य हो ।’ त्यस्तै उनले सरोकारवाला निकायहरूका माझ एनआरएनले लोकप्रीयता हासिल गर्न पनि आफूले उम्मेदवारी दिएको बताएका छन् ।







