असार १० । सिन्धुपाल्चोक, झुटा विवरण बनाएर लिइएको भूकम्पपीडित परिचय पत्र र अस्थायी बासस्थानका लागि दिइएको १५ हजार रूपैयाँ फिर्ता हुन थालेको छ। गतल विवरण भरि कार्ड र नगद लिनेलाई कारबाही गरिन थालेपछि गाउँ–गाउँबाट पैसासहित राहत कार्ड फिर्ता हुन थालेको हो।
सरकारले भुकम्पले घर भत्काएका पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि गाउँमा घरधुरी संख्या ह्वात्तै बढेको थियो। घर संख्या बढ्ने क्रमलाई नियन्त्रण गर्न कठिनाई भएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले अनुगमनका लागि छुट्टै समिति बनाएको थियो। सो समितिले गाउँमा गएर झुटा विवरण देखाएर पैसा र कार्ड बनाएकालाई कारबाहीका लागि सिफारिस गरेपछि कार्ड फिर्ता गर्नेको संख्या बढेको हो।
परिचय पत्र तथा राहतवितरण अनुगमन समितिले अख्तियार शैलीमा अनुगमन गर्दै कारवाहीका लागि सिफारिस गरेपछि व्यहोरा ढाँट्दै परिचय पत्र बनाउनेहरुले कार्ड फिर्ता गरेका हुन्। समितिको प्रतिवेदनको आधारमा जिल्ला दैबी प्रकोप उद्धार समितिले व्यहोरा ढाँटेर भुकम्प पीडित परिचय पत्र लिने र रकम बुझ्नेलाई ठगी गरेको अभियोगमा मुद्दा चलाउने सार्वजनिक गरेको छ।
अनुगमन समितिले फर्जी कागजात पेस गर्नेलाई परिचय पत्र फिर्ता गर्न सुझाब दिएको स्रोतले बतायो। परिचयपत्र फिर्ता नगर्नेलाई मुद्दा चलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको अनुगमन समितिका संयोजक शरदचन्द्र मैनालीले जानकारी दिए। ‘फर्जी कागजात देखाएर राहत कार्ड बनाएकाहरुले अनुगमन समिति गाउँमा गएपछि धमाधम फिर्ता गर्ने क्रम बढेको छ,’ उनले भने ।
विशेषगरी गाउँका अगुवा, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारीहरुबाट गलत विवरण दिएर परिचयपत्र लिएको पाइएको छ। समितिकाअनुसार स्याउले, नवलपुर, पाल्चोकलगायतका गाउँमा नक्कली कागजात देखाएर बनाइएको कार्ड फिर्ता भएको हो।








