हङकङ, मकाउ, चीन र तिब्बतबाट मात्र १ अर्ब २१ करोड सहयोग

hongkongअसार ९ । काठमाडौँ, हङकङ, मकाउ, चीन र तिब्बतबाट मात्र प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा भूकम्प पीडितहरूको सहयोगार्थ १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ । यसमध्ये कतिपय रकम सीधै कोष र केही सम्बन्धित दूतावासमार्फत पठाइएका हुन् ।

हङकङ र मकाउ चीनकै विशेष प्रशासनिक, तिब्बत स्वशासित क्षेत्र हो । नेपालसहित विश्वभरबाट सोमबारसम्म कोषमा ५ अर्ब ५५ करोड जम्मा भएको छ । यसमध्ये १ अर्ब ६ करोड ८८ लाख हङकङ र मकाउबाट मात्र संकलित भएको हो । हङकङ सरकारले ५ करोड हङकङ डलर (६६ करोड २० लाख रुपैयाँ) र मकाउले २ करोड पटाका (२५ करोड ३० लाख रुपैयाँ) सहयोग गरेका छन् ।

हङकङले प्रदान गरेको उक्त रकम कोषमा जम्मा भएकामध्येकै सबैभन्दा ठूलो हो । विदेशी दाताको सूचीमा ३० करोड ६० लाख दिने एसियन डेभलपमेन्ट बैंक दोस्रो र मकाउ तेस्रोमा छन् ।

हङकङ र मकाउबाटै करोड बढी सहयोग गर्ने दाता अरू पनि छन् । अर्बपति व्यवसायी ली का सिङ एक्लैले आफ्नो फाउन्डेसनका तर्फबाट १० लाख अमेरिकी डलर (१० करोड ७ लाख रुपैयाँ) र राजनीतिक दल डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ -डीएबी) ले १० लाख २ हजार १ सय ३३ हङकङ डलर (१ करोड ६१ लाख २६ हजार रुपैयाँ) उपलब्ध गराएका हुन् ।

मकाउ हेनरी फोक फाउन्डेसनले समेत १ करोड ३१ लाख ८३ हजार सहयोग गरेको छ । विश्वका अन्य मुलुकका तुलनामा अहिलेसम्म उद्धार कोषमा सबैभन्दा बढी रकम जम्मा गर्ने हङकङ नै हो । सहयोग रकम जम्मा हुने क्रम अझै निरन्तर रहेको यहाँस्थित महावाणिज्यदूत महेशप्रसाद दाहालले बताए । ‘यसलाई हामीले नेपाल र नेपालीप्रतिको सद्भावका रूपमा लिएका छौं,’ यतिबेला नेपालप्रति सबैमा अत्यन्तै सहयोगी भावना देखिएको उल्लेख गर्दै दाहालले भने, ‘पुनर्निर्माणको दोस्रो चरणमा सहयोग जुटाउन ठोस पहल गर्ने योजनामा छौं ।’

बेइजिङस्थित नेपाली दूतावासले १३ करोड ७० लाख र ल्हासाले २ करोड ४ लाख उद्धार कोषमा पठाएका छन् । दूतावासको खातामा जम्मा भएको उक्त रकम विभिन्न प्रान्तीय सरकार, संघसंस्था, सरकारी कार्यालयका कर्मचारी र व्यक्तिगत सहयोग हुन् ।

ल्हासास्थित नेपालीहरूको संस्था दुःखद निवारण कल्याणकारी कोषले समेत कोषमा छुट्टै ५७ लाख ६७ हजार रुपैयाँ जम्मा गरेको छ । बेइजिङस्थित नेपाली दूतावास, हङकङ र तिब्बतको ल्हासास्थित महावाणिज्य दूतावासले रकम संकलन लागि पहल गरेका हुन् । सहयोग रकम जुटाउन दूतावासहरूले छुट्टै बैंक खाता खोलेका छन् ।

चीन सरकारले भूकम्प पीडितहरूका सहयोगार्थ ९ करोड युआन बराबरको विभिन्न राहत लगायत बन्दोबस्तीका सामग्री उपलब्ध गराएको दूतावासका प्रवक्ता एंव काउन्सुलर रामप्रसाद सुवेदीले जनाए । पुनर्निर्माणको दोस्रो चरणमा नेपालको आवश्यकता र प्राथमिकताअनुसार चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै आएको छ ।

तिब्बत सरकारले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई ६० लाख युआन बराबरको राहत सामग्री वितरण गरेको महावाणिज्यदूत हरिप्रसाद बस्यालले जनाए । ‘सवारीसाधन नचल्ने गोर्खाका केही दुर्गम गाउँहरूमा जिन्सी सहयोग उपलब्ध गराउन अनुरोध गरेका छौँ,’ महावाणिज्यदूत बस्यालले भने, ‘स्थानीय सरकार यसमा सकारात्मक देखिएको छ ।’ हङकङ, मकाउ र चीनका विभिन्न संघसंस्था र व्यक्तिहरूले समेत आफ्नै पहलमा नगद तथा जिन्सी उपलब्ध गराउनुका साथै प्रत्यक्ष पुगेर पनि राहतमा सहभागी भएका छन् । यस्तो सहयोग रकम करोडौं भए पनि यकिन तथ्यांक भने छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सम्बन्धित शिर्षकहरु