असार ८ । काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका सन्दर्भमा प्रमुख दलहरुबीचको सहमतिबारे सर्वोच्च अदालतले हालै गरेको अन्तरिम आदेश ‘अनौठो र राजनीतिक’ भएको बताएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंककबाट मंगलबार स्वेदश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले अदालतले न्यायिक र संवैधानिक फैसला मात्र गर्नुपर्ने भन्दै आदेशबाट आफू आश्चर्यचकित भएको जनाए । उनले भने, “जनताले आफ्ना सार्वभौम जनप्रतिनिधिलाई संविधान बनाउने अधिकार दिएर पठाएका छन्, उनीहरु संविधान बनाउन स्वतन्त्र छन्, यसमा कसैको बाधाव्यवधान र आदेशले असर गर्दैन ।”
उनले संविधान निर्माणको प्रक्रिया स्वतन्त्रतापूर्वक र बिना बाधा अवरोध अघि बढ्ने बताउँदै कुनै द्विविधा तथा त्रासमा नरहन जनतलाई आग्रह गरे।
प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमतिमा सङ्घीयताको नामाङ्कन र सीमाङ्कन नगरी संविधान जारी गर्ने उल्लेख हुनु संविधानविपरीत भनी सर्वोच्च अदालतको एकल इजलासले केही दिन अघि अन्तरिम आदेश दिएको थियो ।
अध्यक्ष ओलीले जनताको आवश्यकताअनुसार नयाँ संविधान बनाउन लागिएकाले त्यसका लागि अन्तरिम संविधानको कुनै धारा असंशोधनीय छ भन्नेरुपमा व्याख्या गर्र्नुले देशलाई एकताबद्ध, समृद्ध, स्थिर र समुन्नत बनाउने दलहरुको प्रयासमा अन्य उद्देश्य मिसाएर त्यस्तो आदेश आएको त होइन भन्ने प्रश्न उब्जिएको टिप्पणी गरे । कस्तो अन्य उद्देश्य भन्ने जिज्ञासामा ओलीको जवाफ थियो, “त्यो त नाङ्लो लगाएर केलाउनुपर्छ ।”
उनले अन्तरिम संविधानलाई अहिलेको व्यवस्थापिका–संसद्ले संशोधन पनि गर्न सक्ने र अन्तरिम संविधानको सीमामा रहेर नयाँ संविधान ल्याउनुपर्छ भन्ने बाध्यता पनि नरहेको जनाए।
विसं २०५२ भदौ १२ मा मध्यावधि निर्वाचनसम्बन्धी सर्वोच्चबाट भएको फैसलाले मुलुकमा राजनीतिक हिंसा निम्त्याएको उल्लेख गर्दै उनले संविधानका हवाला दिँदै गरिने यस्ता फैसला राजनीतिक हुने बताए ।
राजनीतिक विषयमा निर्णय गर्न पार्टी स्वतन्त्र रहने र त्यसमा मूल्याङ्कन गर्ने काम जनताको भएको दावी गर्दै अध्यक्ष ओलीले संविधान चाँडै बन्ने भएपछि संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त स्वागतलाई निराशामा परिणत हुन नदिने दृढता प्रकट गरे ।
राष्ट्रपति डा रामवरण यादवले पनि १६ बुँदे सहमतिमा आफूसँग परामर्श नभएको भन्ने आशय बाहिर आएको छ नि रु भन्ने पत्रकारको एक प्रश्नमा अध्यक्ष ओलीले भने, “संवैधानिक राष्ट्रपतिले राजनीति गर्ने होइन भन्ने उहाँलाई थाहा छ ।”
अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि यही असार २ गते त्यसतर्फ गएका थिए । उनले परीक्षणबाट आफ्नो स्वास्थ्य अत्यन्त राम्रो भएको जनाए।
उनको स्वागतका लागि उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवालीलगायत नेता विमानस्थल पुगेका थिए ।








