जलविद्युत् आयोजनाका सञ्चालक पक्राउ

असार ८ । काठमाडौँ,महानगरीय प्रहरी अपराध महाशाखाले युरोपेली मुलुकमा पठाइदिने भनी लाखौं ठगी गर्ने चेरा खोला जलविद्युत् आयोजनाका सञ्चालकलाई पक्राउ गरेको छ ।

सिरहा जिल्ला कल्याणपुर जब्दी घर हुने सञ्जयकुमार साह, नवलपरासी बर्दघाट बस्ने अमितजङ्ग रायमाझीसमेतलाई युरोपेली मुलुक इटाली र स्पेन पठाई जागिर समेत लगाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति रु आठ लाखका दरले उठाई ठगी गर्ने बर्दिया ढोढरी–२ घर भई हाल ललितपुर भैसेपाटी बस्ने ४० वर्षीय सुरेश पन्तलाई पक्राउ गरिएको हो ।

सञ्जयकुमार र अमितजङ्गलाई भारतको बाटो प्रयोग गरी इटाली र स्पेन लैजाने भनी चार महिना भारत महिपालपुर सोल्टी गेष्टहाउसमा लगेर राखी फरार रहेका निज पन्तलाई महाशाखाले पक्राउ गरेको जनाएको छ ।

पक्राउपछि प्रारम्भिक अनुसन्धानबाट निजले विभिन्न आठ जनालाई स्पेन र इटाली पठाउने भनी करिब रु ४० लाख ठगी गरेको देखिएको छ । निज सुरेश पन्तले आफू चेरा खोला जलविद्युत् आयोजनाको सञ्चालक तथा ती मुलुकको नेपाल प्रतिनिधिका रुपमा रहेको भन्ने विश्वासमा पारेको र निजको भाइ गणेश पन्त भारतमा रही विदेश ठाउने कार्य मिलाउने गरेको समेत खुल्न आएकाले सो विषयमा समेत थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु