असार ८ । काठमाडौँ, अन्तरपार्टी महिला सञ्जालले भूकम्पपीडित महिलामाथि हुने गरेका यौनजन्य हिंसाबारे अनुगमन गर्ने भएको छ ।
सञ्जालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भूकम्प अतिप्रभावित १४ जिल्लाका सञ्जालका शाखामार्फत् भूकम्पपीडित महिलामाथि हुने यौनजन्य हिंसाबारे अनुगमन गर्ने जानकारी दिएको हो ।
सञ्जालका अध्यक्ष शशी श्रेष्ठले भूकम्पपछि अस्थायी शिविरमा बस्न बाध्य महिला तथा बालबालिकामाथि आपराधिक क्रियाकलाप हुने गरेको भन्ने घटना बाहिर आइरहेकाले सञ्जालले यही असार १० गतेदेखि २५ गतेसम्म १५ जिल्लामा अनुगमन गर्ने निर्णय गरेको बताए।
स्थलगत अनुमगनका क्रममा राजनीतिक संयन्त्र, विपत् व्यवस्थापन समिति र वडा नागरिक मञ्चलगायत सम्बन्धित सबै निकायमा महिला प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब सिर्जना गर्नुका साथै महिलालाई राजनीतिक क्षेत्रमा पुनःस्थापित गर्ने कार्य मुख्य रहने उनले जानकारी गराए ।
यसअघि प्रमुख चार दलबीच भएको सोह्रबुँदे सहमतिपछि नयाँ संविधानमा महिलाको हक–अधिकार सुनिश्चित गर्न महिलामैत्री संविधान निर्माणका लागि यही जेठ २८ गतेदेखि असार ४ गतेसम्म प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता र ६०१ सभासद्लाई ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष श्रेष्ठले बताए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने ११ राजनीतिक दलका महिला सभासद्को साझा राजनीतिक मञ्चका रुपमा रहेको सञ्जालको ७५ वटै जिल्लामा शाखा छ ।








