फुकेतमा पर्यटन प्रवद्र्धन, ‘नेपाल सुरक्षित छः घुमौँ, मनोरञ्जन गरौँ र सहयोग गरौँ’

Flag-Pins-Nepal-Thailandअसार ७। काठमाडौँ,बैंककस्थित नेपाली राजदूतावासले ‘नेपाल सुरक्षित छः घुमौँ, मनोरञ्जन गरौँ र सहयोग गरौँ’ नाराका साथ मुलुकको पर्यटन प्रवद्र्धनमा सघाउने अभियानअन्तर्गत थालेको प्रवद्र्धनात्मक कार्यक्रम हालै थाइल्यान्डको पर्यटकीय नगरी फुकेतमा सम्पन्न भएको छ ।

दक्षिण एसियाली मुलुकमा पर्यटक पठाउँदै आएका थाइल्यान्डका पर्यटन व्यवसायी तथा फुकेतका पत्रकारलाई सम्मिलित गराएर आयोजित उक्त कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले भूकम्पबाट भएको क्षति, पर्यटकीय गन्तव्यहरूको वर्तमान अवस्था, नेपाल सरकार तथा पर्यटन उद्योगी–व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई भूकम्पअघिकै स्थितिमा पुर्याउन गरेका प्रयासबारे जानकारी दिएका थिए।

“बैंककस्थित नेपाली दूतावासका अनुसार नेपालका पर्यटन गन्तव्यहरूमध्ये करिब १५ प्रतिशतमा मात्र क्षति भएको, खासगरी ११ जिल्ला भूकम्पबाट प्रभावित भएका, नेपाल भ्रमण गर्ने पर्यटकलाई भारी छुटका कार्यक्रम ल्याइएका, पर्यटकको सुविधा र सुरक्षाका लागि नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा नेपालका पर्यटन व्यवसायीबाट हरसम्भव प्रयत्न हुने जानकारी गराइएको थियो ।

कार्यक्रममा नियोग उपप्रमुख डोरनाथ अर्यालले ढुक्कस“ग नेपाल भ्रमण गर्न र त्यहाँको यथार्थ जानकारी बाहिर ल्याउन थाई सञ्चारकर्मीलाई अनुरोध गरे । नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई आवश्यक परेका बेला तत्काल प्रवेशाज्ञा जारी गरिने जानकारी पनि कार्यक्रममा दिइएको उनले बताए।

फुकेत पर्यटन सङ्घका प्रमुखले नेपालको पर्यटन प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भूकम्पपीडितको सहायताका लागि सङ्कलित तीन लाख २० हजार थाई भाट राजदूत अधिकारीलाई हस्तान्तरण गरेको उक्त दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु