असार ५ । काबुल, अफगानिस्तानको सुरक्षा फौजले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना लडाकू मारिएको समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा जारी रहेको हिंसात्मक क्रियाकलापका विरुद्धमा त्यहाँको सुरक्षा बलले कारबाही जारी राखेको छ ।
सो कारबाहीका क्रममा परी शनिबार २४ जनाको ज्यान गएको बताइएको छ । सो मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार अफगानिस्तानको सुरक्षा फौजले जारी राखेको कारबाहीको क्रममा ती सशस्त्र लडाकू मारिएका हुन् ।
मारिने लडाकू तालिवान रहेका पनि मन्त्रालयले जनाएको छ । अफगानिस्तानको हेल्मण्ड र कुनार प्रान्तमा कारबाही जारी राखिएको बताइएको छ ।
त्यसैगरी कान्दाहार प्रान्तको मिवाण्ड जिल्लाका अधिकांश स्थानमा अफगान सुरक्षा फौजले तालिवानहरु लुकेर बस्ने गरेका आश्रयस्थलहरु पनि ध्वस्त पारिदिएको बताइएको छ ।
पछिल्लो समयमा अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किएपछि अफगानिस्तानको सुरक्षा फौजले नै तालिवान विरुद्धको कारबाही गर्ने गरेको छ ।








