दैवी प्रकोप उद्धार कोषमा नेपाल निर्माण व्यवसायी महासंघको १ करोड

असार २ । काठमाडौँ, नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक रुपैया उपलब्ध गराएको छ । महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला समक्ष, अर्थमन्त्री डाक्टर रामशरण महतसमेतको उपस्थितिमा एक करोड एक रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण पछिको संक्षिप्त कार्यक्रममा प्रधानमन्त्री कोइरालाले महाभूकम्प पछिको चुनौति वर्तमान सरकारले पार लगाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । महाभूकम्पले ल्याएको महाविपत्तिसँगै राहत तथा पुर्नस्थापनामा नेपालीहरुले देखाएको एकता विश्वका लागि उदाहरणीय भएको प्रधानमन्त्रीले बताउनुभयो । छिट्टै आफुले आपतकालीन् बैठक डाँकेर पर्याप्त राहत नपुगेको देशका दुर दराजमा पुर्ननिर्माण कार्यलाई समेत तीव्र पार्ने जानकारी प्रधानमन्त्री कोइरालाले दिनुभयो । कोइरालाले आफनै नेतृत्वको सरकारले छिट्टै लोकतान्त्रिक संविधान समेत जारी गर्ने बताउनुभयो । अर्थमन्त्री डाक्टर रामशरण महतले निर्माण व्यवसायीहरुलाई व्यवसायीक दक्षता वृद्धि गर्न सल्लाह दिँदै सरकार व्यवसायीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

व्यवसायीहरुकै पक्षमा हुने गरी सरकारले सार्वजनिक खरीद ऐन अध्यादेश मार्फत संसोधन गरेको जानकारी दिँदै डाक्टर महतले व्यवासायीहरु सँगै सबै नेपाली मिलेर दिरात निर्माणकार्यमा जुट्ने बेला आएको बताउनुभयो । महासंघका अध्यक्ष शरदकुमार गौचनले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नै मुलुकमा सार्थक पुर्ननिर्माणको थालनी हुने विश्वास व्यक्त गर्दै उहाँकै नेतृत्वमा लोकतान्त्रीक संविधान जारी होस् भनी शुभकामना व्यक्त गर्नुभयो । महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले विगतमा ठूला निर्माण कार्यमा विदेशीहरु संलग्न भएकाले परियोजनाको समाप्तीसँगै उनीहरुले निर्माण सामाग्री विदेश लैजादाँ अहिले मुलुकमा पुर्ननिर्माण तथा पुर्नस्थापनका लागि निर्माण सामाग्रीहरुको अभाव रहेको बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघले यस अघि नै जिल्ला संघहरु, बस्तुगत संघ र निर्माण व्यवसायीहरुबाट प्राप्त करीब ८२ लाख ८३ हजार ६ सय ९१ रुपैया बराबरको सहयोग राहत वितरण, पुर्नस्थापना तथा पुर्ननिर्माणका लागि सरोकारावलालाई उपलब्ध गराइ सकेको छ । उद्धार कार्यमा विभिन्न मेसिन, औजार तथा उपकरणहरु गरी करीब ३४ लाख ६६ हजार रुपैया बराबरको प्रत्यक्ष सहयोग पनि महासंघले गरिसकेको छ । त्यसैगरी विभिन्न राजनीतिक दलको आग्रह अनुसार स्वयम सेवक परिचालनका लागि आवश्यक सामग्री खरिद गर्न रु ६ लाख २५ हजार सम्बन्धीत दलका सभापति तथा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित शिर्षकहरु