राष्ट्रसङ्घका उपमहासचिव फेल्टम्यानद्वारा सोह्रबुँदे सहमतिको स्वागत

जेठ ३०। काठमाडौँ, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफेरी फेल्टम्यानले आज साँझ प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी उहाँको अग्रसरतामा हस्ताक्षर भएको सोह्रबुँदे सहमतिको स्वागत गर्दै बधाइ ज्ञापन गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा भएको निरन्तरको प्रयास र वार्ताको परिणामस्वरुप सोह्रबुँदे सहमति हुन सकेको उल्लेख गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लेखनमा यो कदम कोशेढुङ्गा सावित भएको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएकोछ ।

प्रधानमन्त्री कोइरालाले उपमहासचिव फेल्टम्यानलाई धन्यवाद दिँदै महासचिव वान की मुनलाई यसको स्वागत गर्दै दिनुभएको वक्तव्यको लागि पनि आभार प्रकट गर्नुभयो । प्रधानमन्त्रीले शान्ति र विकासका लागि संयुक्त राष्ट्र सङ्घ नेपालको साझेदार भएको पनि उल्लेख गर्नुभयो ।

टेलिफोन वार्तामा प्रधानमन्त्रीले सोह्रबुँदे सहमतिलाई संविधान निर्माणमा ठूलो उपलब्धि भएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा पूर्ण विश्वासका साथ प्रजातान्त्रिक र शान्तिपूर्ण तवरले काम गर्न चाहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले आगामी असार १० गते हुने नेपालको पुनःस्थापना तथा पुनःनिर्माण सम्मेलनमा सहभागी हुन राष्ट्र सङ्घका महासचिव मुनलाई आमन्त्रण गरिएको जानकारी दिँदै नेपाल उहाँको स्वागतका लागि प्रतीक्षारत रहेको बताउनुभयो । उहाँले महासचिवको उपस्थिति नै विश्व समुदायको लागि सार्थक सन्देश हुने बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु