भक्तपुरका भग्नावशेष हटाउनै कठिनाइ, चौतर्फी बाटो बन्द

जेठ २९। भक्तपुर, भूकम्पले घर भत्काएको डेढ महिना बितिसक्दा पनि भक्तपुरका बासिन्दालाई भग्नावशेष हटाउन निकै कठिनाइ भएको छ ।

भत्किएका घरको केही भग्नावशेष हटाए पनि र बस्नै नहुने गरी जोखिममा रहेका घरहरु आफैँले भत्काउन थाले पनि जनशक्तिको अभाव, प्रविधिको अभाव र माटो व्यस्थापनमा कठिनाइ भएपछि समस्या आएको हो ।

वर्षा लाग्न थालेपछि स्थानीय आफैँले परिवार मिलेर आफ्ना र छिमेकीका घर भत्काउन थालेपनि कतिपय उच्च जोखिममा रहेका घरहरु भत्काउनै नसक्ने अवस्था आएपछि त्यस्ता घरले छिमेकी र पैदलयात्रीलाई समेत समस्या पारेको छ ।

भग्नावशेषको माटो स्थानीयले बाटोमै ल्याएर थुपार्ने गरेपछि भक्तपुर नगरभित्रका चौतर्फी बाटोसमेत बन्द भएका छन् । भक्तपुर नगरपालिकाका अनुसार नगरभित्र मात्रै आठ हजार घर पूर्णरुपमा क्षति भएका छन् भने दुई हजार ९० घरमा आंशिक क्षति पुगेको छ ।

विशेषगरी क्षति भएका गल्लीभित्रका चार हजार घर अझै जोखिमयुक्त र ठाडै अवस्थामा रहेकाले त्यस्ता घर भत्काउन निकै चुनौती भएको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिनुभयो ।

एकातिर घर भत्काउने जनशक्तिको अभाव अर्कोतर्फ घरहरु भत्काउने प्रविधिको समेत अभावले निकै समस्या आएको उहाँको भनाइ छ । भग्नावशेष हटाउन नगरपालिकाले दैनिक भक्तपुरभित्र १४ वटा डोजर र ४५ वटा टिपर परिचालन गरेपनि अपुग भएकाले थप माग भइरहेको उहाँको भनाइ छ ।

नगरपालिकाले वडा नं १० बाट सबै घर एकै पटक भत्काउने अभियान सुरु गरेपनि अन्य वडामा समस्या उत्तिकै छ । यद्यपि सबै वडामा कतिपय घरधनी आफैँले घर भत्काउन थालेका छन् । घरको पुरानो इँटा र काठपात आफैँले भत्काउँदा पुनःप्रयोगका लागि काम लाग्ने भएपछि उनीहरुले आफँै भत्काउन थालेका हुन् ।

भक्तपुर नगरभित्र डोजर र टिपर पनि नजाने गल्लीभित्रका घर भत्काउन ठूलो चुनौती थपिएको छ । कार्यकारी अधिकृत रिजाल भन्नुहुन्छ˗ “नगरभित्र कम्तीमा पनि ८०० घर भत्काउनै नसकिने अवस्थामा पुगेका छन्, दाँयाबाँया अरुका नभत्किएका घर र बीचमा पाँचतले अग्लो, तर माथिल्लो भाग ढलान भएका घर छन्, ती घर भत्काउने चुनौती आएको छ ।”

नेपाली सेनाले भत्काउन नसक्ने भनेर छाडेका त्यस्ता घरहरु नगरपालिका र स्थानीयले पनि भत्काउन नसक्ने भएपछि नगरपालिकाले अन्तर्राष्ट्रिय निकाय गुहारेको छ । रिजालले भन्नुभयो–“त्यस्ता घर भत्काउन सरकारमार्फत अन्तर्राष्ट्रिय प्रविधियुक्त निकाय गुहार्नु परेको छ, तर कहिलेसम्म आउँछ भन्न सकिन्न ।”

भत्किने अवस्थामा रहेका र भत्काउन समस्या परेका धराप त्यस्ता घरले छिमेकीलाई, बाटो हिँड्ने र नगरपालिका समेतलाई कतिखेर भत्किएर अर्को दुर्घटना निम्त्याउने हो भन्ने चिन्ताले समस्या पारेको उहाँले बताउनुभयो ।

दिउँसोदेखि रातिसम्म त्यस्ता घर ढल्किँदै गए, पल्टिन लागे भनेर फोन आउने गरेको बताउँदै उहाँले त्यस्ता घर चुनौती बनेको बताउनुभयो । घर भत्काएकाले माटो राख्ने ठाउँ नभएपछि घर भत्काउँदै बाटोमा थुपार्ने गर्दा नगरभित्र जाने बाटासमेत बन्द भएका छन् ।

कार्यकारी अधिकृत रिजाल भन्नुहुन्छ– “भग्नावशेष हटाउँदा बाटो पनि बन्द भएका छन्, दिनभरि माटो उठाएर बाटो सफा ग¥यो, भोलि बिहान उत्तिकै थुप्रिन्छ ।” गल्लीभित्र माटो राख्ने ठाउँ नभएपछि स्थानीयले बाटोमा माटो राख्ने गर्दा बाटो बन्द हुनुका साथै धुलो उडेर निकै समस्या पारेको स्थानीयको पनि गुनासो छ ।

सम्बन्धित शिर्षकहरु