नेपाली नेताहरुलाई ध्यान गर्न बौद्ध भिक्षु डा.लामको सुझाव

जेठ २५ । काठमाडौं, गौतम बुद्धको जन्मथलो लुम्बिनीमा लामो समयदेखि बस्दै आउनुभएका भियतनामी भिक्षु डा. लामले हालै नेपालमा आएको विनाशकारी भुकम्पबाट ध्वस्त नेपाललाई नयाँ नेपालमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरका छन् । त्यसका लागि उनले शीर्ष नेताहरुलाई एक हप्ताका लागि ध्यान गर्न सुझाव समेत दिए ।

सोमबार राजधानीमा आयोजित भुकम्पसँगै कसरी जिउने भन्नेवारे अन्र्तक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै भिक्षु डा. लामले भगवान गौतम बुद्धको गहिरो ज्ञानलाई उपयोग गर्न सबै नेपालीहरु एकताबद्ध भएर लाग्नुपर्ने र शीर्ष नेताहरुले एक हप्ता ध्यान गर्नुपर्ने सुझाव समेत दिए ।

उनले एक हप्तासम्म खाना तथा आवासको व्यवस्था समेत आँफैले व्यहोर्ने जानकारी दिए ।

दशकौंदेखि नेपाल बस्दै आएका भिक्षु डा. लाम आफूलाई नेपालको धर्मपुत्र भन्न रुचाउनुहुन्छ । उनले भने,‘सरकारअभिभावक हुने भएकाले उसले ठिक ढंगले काम गर्नुपर्छ, अहिले भुकम्पबाट पीडित जनतालाई राहत वितरण गर्ने काम सही ढंगले नभएको जस्तो देखिन्छ ।’

भिक्षु डा. लामले राहतको नाममा रकम दिन नहुने समेत सझाव दिएका छन् । उनले पैसा दिँदा रकम मोजमस्तीमा खर्च हुनेतर्फ संकेत गर्दै त्यसका सट्टा ५ लाख घर निर्माण गरिदिनुपर्ने सुझाव दिए । उनले भने,‘सरकारले त्यसरी घर निर्माणगर्दा एउटै रंग हुन्छ, सबै घरहरु रंगीन हुन्छन्, त्यतिवेला नेपालको नयाँ रुप हुनेछ ।’

भिक्षु डा. लामले घर निर्माण गर्नु त समस्याको एउटा पाटो मात्रै भएको उल्लेख गर्दै देशमा रोजगारी सिर्जना गर्नु र मुलुकलाई नयाँ बनाउनु अर्को समस्या समेत भएको तर्फ सबैलाई ध्यानाकार्षण समेत गराए ।

सम्बोधनका क्रममा भिक्षुले पछिल्लो समय पृथ्वीमाथि सबैले बलात्कार गरेको भन्दै आफूले त्यसतर्फ सचेत गराउन पुस्तक समेत लेखेको जानकारी दिए । उनका अनुसार उक्त पुस्तक संसारका सबै खाले हतियारभन्दा शक्तिशाली हुने र करुणयुक्त हुने विश्वास व्यक्त गरे ।

एमाओवादीका युवा नेता शक्ति बहादुर बस्नेतले अहिले वादविवादमा समय खर्चिनुभन्दा पनि सबै राजनीतिक दल एकजुट भएर पुर्ननिर्माणमा जुट्नुपर्ने बताए । उनले भने,‘अहिलेको आवश्यकत्ता भनेको नै एक भएर पुर्ननिर्माण गर्ने हो, हामी करिव करिव एक भएका छौं, समस्याको समाधान गर्न सक्छौं ।’

नेता बस्नेतले नेपालको विविध संस्कृति तथा सभ्यताको संरक्षण गर्नुको साथै भुगोलको विविधतलाई ध्यान दिएर भू–उपयोग नीति पनि निर्माण गर्नुपर्ने बताए ।

उनले प्रमुख राजनीतिक दलहरुवीच संविधान जारी गर्नेवारे आज साँझसम्म ठोस सहमति हुनेसमेत ठोकुवा गरे ।
मधेशी जनअधिकार फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले महाभुकम्पपछि सबै राजनीतिक दलले मिलेर संकल्प प्रस्ताव समेत पारित गरेको उल्लेख गर्दै अहिले सबै दल एक भएर पुर्ननिर्माणको काममा लाग्ने विश्वास व्यक्त गरे ।

यादवले भने,‘संकल्प प्रस्तावले हामीलाई एउटा निर्णयमा पु¥याएको छ, अब हामी एक भएर लाग्नुको विकल्प छैन ।’
उनले राहत वितरणमा मधेशका जनताले आफ्नो तर्फबाट माना चामल जम्मा गरेर भुकम्प प्रभावित नेपालीहरुलाई दिलोज्यानले सहयोग गरेको समेत बताए । उनले भने,‘विश्व खाद्य कार्यक्रमले पठाएको चामल बरु प्रभावित जनताले कुहिएको भनेर लिएनन तर हामीले पठाएको चामल खुशी खुशीका साथ ग्रहण गर्नुभयो ।’

यादवले विश्वमा भुकम्पसम्बन्धी विज्ञहरु पठाउनुपर्नेमा अहिले नेपाललाई परेको वेला कोही विशेषज्ञ नै नभएकोबारे गुनासो पोखे । उनले देश पुर्ननिर्माणका लागि ठोस योजना र प्रतिबद्धताको खाँचो रहेको आवश्यकत्ता औंल्याए ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले पछिल्लो समय भुकम्पको नाममा नेपालको धर्म, संस्कृति तथा सभ्यतामाथि ठाडो प्रहार भएको आरोप लगाएका छन् ।

दिक्षितले भुकम्पको नाममा थुप्रै विदेशी सहायता आएको तर नेपाली नेताहरुले पैसा आयो भन्नेवित्तिकै आँखा चिम्लिएर लिने गरेको समेत आरोप लगाए । उनले भने,‘अहिले कतिपय भुकम्प प्रभावित ठाउँहरुमा राहतका लागि चामलको बोरा बाँडिएपनि बोराभित्र बाईबल समेत बाँडिएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो ।’

दिक्षितले खाना नहुनेलाई खाना खुवाईदिनेहरुले आज चर्च जान बाध्य बनाएको समेत आरोप लगाए । डा. दिक्षितले महाभुकम्पबाट नेपालका थुप्रै सम्पदाहरु ध्वस्त भएको उल्लेख गर्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
उनले यतिवेला सगरमाथा र लुम्बिनीको चिन्ता गर्नुको सट्टा पैसाको प्रलोभनमा धर्म परिवर्तन गर्ने काम टुलुटुल हेरेर मात्रै बस्न नहुने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले सबै राजनीतिक दलले आफ्ना पार्टीगत एजेण्डाहरुलाई परित्याग गरि देश पूर्ननिर्माणका लागि न्यूनतम साझा कार्यक्रम बनाउनुपर्ने बताए ।

अध्यक्ष झाले भुकम्पसम्बन्धीत कार्यक्रमका नाममा नेपालले झण्डै ११ अर्ब रकम स्वाहः पारेको उल्लेख गर्दै बोलेर देश नबन्ने भएकाले काममा केन्द्रीत हुुन नेताहरुलाई सुझाव दिए । झाले आफ्नो नेतृत्वमा छिट्टै  मनोचिकित्सक उपचारको कार्यक्रम समेत प्रभावित जिल्लामा पु¥याउने जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु