जेठ २३ ।काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको सहयोगार्थ भएको आजको फुटबल खेलबाट मुलुकमा ठूलो एकता प्रदर्शनको सन्देश प्रवाह भएको बताउनुभएको छ ।
भूकम्पपीडितको सहयोगार्थ नयाँ पत्रिका राष्ट्रिय दैनिकले सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आयोजना गरेको फुटबल प्रतियोगिता समापनको अवसरमा बोल्दै उहाँले प्रधानमन्त्री कोइरालाले प्राकृतिक विपद्को सबै राजनीतिक दलले एक भएर सामना गर्दै आएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो ‘‘संविधान निर्माणमा लागेका हामीहरुलाई आजको खेलबाट एक भएर जिम्मेवारी पूरा गर्न प्रेरणा मिलेको छ । अब आधुनिक नेपालको निर्माणमा लाग्छौँ ।’’
नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले यस्ता क्रियाकलापले आपसी सम्बन्धलाई मैत्रीपूर्ण बनाउने र नवनिर्माणमा एकताबद्ध भएर लाग्न प्रेरणा दिएको संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सशस्त्र प्रहरीले पु¥याएको सहयोगप्रति उहाँले धन्यवाद प्रकट गर्नुभयो ।
यस्तै मधेसी जनअधिकार फोरम ९नेपाल०का अध्यक्ष विजयकुमार गच्छदारले मुलुकमा भाषण र बोलीले होइन, हृदयले एक भएर अगाडि बढ्ने प्रेरणा दिएको बताउनुभयो । कलाकार मित्र तथा राजनीतिक नेतृत्वले ‘स्पोर्टसम्यानसिप’ देखाएको भन्दै उहाँले मुलुक निर्माणमा प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेता र कलाकारबीचको आजको खेलले एकता र सद्भाव प्रवाह गर्दै सम्पूर्ण नेपाली एक भएर भूकम्पले सिर्जना गरेको अवस्थालाई सामना गर्न प्रेरित गरेको बताउनुभयो ।
कलाकार टोली शून्यका विरुद्ध तीन गोलले विजयी
राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कलाकार टोली तीन गोलले विजयी भएको छ ।
कलाकार टोलीका तर्फबाट मध्यान्तरअघिको ३६औँ र मध्यान्तरपछिको ३९ र ४०औँ मिनेटमा गोल प्रहार भएको थियो । राजनीतिक दलका तर्फबाट गोल गर्ने दर्जनौँ प्रयास असफल भएपछि शून्यमा चित्त बुझाउनु परेको थियो ।
निकै उत्साहका साथ खेलको नियम पूर्ण पालना गर्दैै दुवै टोलीबीच घम्साघम्सी भएको थियो ।
काठमाडौँको तापक्रम ३२ डिग्री रहेको बेला सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकको मैदानमा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलले दर्शकलाई रौनकता प्रदान गरेको थियो ।
अपराह्न ३ः३० मा सुरु भएको सो प्रतियोगिता हेर्न उपस्थित दर्शकले दुबैतर्फका खेलाडीलाई गोल गर्न हौसला दिइरहेका थिए ।








