जेठ २२ । काठमाडौं, भूकम्पले भवन भत्काइदिएपछि अहिले लाखौं विद्यार्थी त्रिपाल–कक्षामा विपत्तिका पीडा बाँडिरहेका छन् तर शिक्षामन्त्री चित्रलेखा यादव भने श्रीमान र छोराछोरी लिएर विदेश शयरमा मस्त छिन्। ‘विपदका बेला विदेश घुम्न नजान’ प्रधानमन्त्री सुशील कोइरालाले पटकपटक दिएका निर्देशन अवज्ञा गर्दै उनी वैशाख १२ यता तीन देश घुमिसकेकी छन्।
पछिल्लोपटक जेठ १८ गते मन्त्रालयसँग असम्बन्धित महिलासम्बन्धी कार्यक्रममा भाग लिन डेनमार्क पुगेकी उनी २४ गते मात्र फर्कँने बताइएको छ।
पछिल्लो भ्रमणका लागि मन्त्री यादवले गत बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालासँग अनुमति मागेकी थिइन्। ‘प्रधानमन्त्रीले तपाईं यस्तो बेला नजानुस्, शिक्षाक्षेत्र लथालिंग छ, त्यसको व्यवस्थापनमा लाग्नुस् भन्नुभएको थियो,’ बिहीबारको बैठकमा उपस्थित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नागरिकसँग भने, ‘उहाँ प्रधानमन्त्रीलाई फकाउन थाल्नुभयो। मलाई त जानुहुन्नजस्तो लागेको थियो तर विपदका बेला शिक्षाक्षेत्र लथालिंग छाडेर जानुभयो।’
मन्त्री यादवको ‘अपरिहार्य भ्रमण’ को जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने पण्डितले जिकिर गरे।
वैशाख १२ को भूकम्पलगत्तै १३ गतेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालाले विपदमा सहयोग हुने कार्यक्रमबाहेक अन्य कुनै पनि कार्यक्रममा विदेश नजान मन्त्रीहरुलाई निर्देशन दिएका थिए। असारसम्म विदेश नजान उनको विशेष निर्देशन थियो।
६ हजारभन्दा बढी विद्यालय ध्वस्त भएको र हजारौं विद्यार्थीको पढाइ बिथोलिएको समयमा उनी आफूसँग असम्बन्धित कार्यक्रममा भाग लिन कहिले श्रीमान, कहिले छोरी त कहिले छोरालाई लिएर घुमिरहेकी छिन्। मन्त्री यादव वैशाख १२ को भूकम्पपछि पहिले कोरिया, त्यसपछि चीन र अहिले डेनमार्क पुगेकी हुन्।
‘शैक्षिक वातावरण सामान्य पार्ने चुनौती रहेका बेला उहाँ परिवारका कुनै न कुनै एक सदस्य लिएर विदेश भ्रमण गरिरहनुभएको छ’, शिक्षा मन्त्रालय स्रोतले भन्यो, ‘नजाँदा पनि हुने कार्यक्रममा उहाँ गइरहनुभएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।








