काठमाडौँ,काठमाडौँको बौद्धनाथ चैत्य परिसरमा मृत्यु भएकाको नाममा नौ हजार दीप प्रज्वलन गरिएको छ । बौद्ध व्यापार सङ्घले यही वैशाख १२ गते गएको भूकम्पबाट मृत्यु भएकाको आत्माको चिर शान्तिको कामना गर्दै शनिबार दीप प्रज्वलन गरेको हो ।हिन्दू तथा बौद्ध धर्मका गुरुको सहभागितामा भएको उक्त कार्यक्रममा विभिन्न जातजाति तथा संस्कृतिका समुदायले नेपालको राष्ट्रिय झण्डा र चैत्यको आकारमा दीप प्रज्वलन गरी भावुक मुद्रामा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि प्रकट गरेका हुन् ।सङ्घका अध्यक्ष रामकुमार कार्कीले भूकम्पले ल्याएको विपद्का कारण धेरै नेपाली गुमाउन परेको शोकको घडीमा त्यसलाई शक्तिमा परिणत गर्न सो कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा घाइतेको शीघ्र स्वास्थ्य लाभ तथा हराएका मानिससँग चाडो मिलन होस् भनी विभिन्न धर्म गुरुले धार्मिक पाठसमेत गरेका थिए ।
कार्यक्रममा नेकपा (एमाले) का नेता तथा सभासद् रामेश्वर फुयाँलले भूकम्पका कारण आएको राष्ट्रिय विपत्तिको सामना गर्न सम्पूर्ण नेपाली तथा दल एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिँदै पीडितलाई राहत तथा पुनःनिर्माणका कार्यलाई व्यवस्थित गरी सुरक्षित बसोबास गर्नुपर्ने धारणा राख्नु भयो ।








