वैशाख २५ ।भक्तपुर,शक्त्तिशाली भूकम्प गएपछि धराप अवस्थामा रहेका भक्त्तपुरका घरहरू भत्काउने कार्य भइरहेको छ । छानो भत्किएका र भूकम्पले जीर्ण बनेर उच्च जोखिममा रहेका घरहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विदेशी सुरक्षाकर्मी भक्तपुरका छवटै नगरपालिकाका विभिन्न क्षेत्रमा खटिएका छन् । भुकम्पले भत्किएका याँहाका अधिकांश कच्ची घरहरु भूकम्प कम हुँदै गएपछि सुरक्षाकर्मीलाई जोखिममा रहेका घरहरू भत्काउन भ्याइनभ्याई भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले भूकम्पका कारण जीर्ण भएका घरहरूले दुर्घटना निम्त्याउन सक्ने भएकाले गाउँगाउँसम्म सुरक्षाकर्मी परिचालन गरेर घर भत्काउन थालिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका केही टोलमा भने साना गल्लीका कारण डोजर जान नसक्ने र व्यक्तिले पनि भत्काउन नसक्ने घरहरू भने क्रेन ल्याएर भत्काउनुपर्ने भएको उहाँले बताउनुभयो ।
सुरक्षाकर्मीले जीर्ण भएर जोखिममा रहेका दैनिक ५० घर भत्काउन थालेको जानकारी दिँदै उहाँले यस्ता एक हजारभन्दा बढी घर भत्काउन बाँकी रहेको बताउनुभयो ।








