काठमाडौँ,नापी विभागअन्तर्गत खगोल तथा भूमापन महाशाखाले वैशाख १२ गते गएको महा भूकम्पपछि काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थितिका बारेमा अध्ययन सुरु गरेको छ ।
उपत्यका सेरोफेरोका विभिन्न पाँच स्थानमा भूउपग्रह प्रविधिमा आधारित ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) मा आधारित रहेर आइतबार १२ देखि सोमबार १२ बजेसम्मको २४ घण्टे स्थलगत अध्ययन (क्लोज अबजरभेसन) थालिएको हो ।
फूलचोकी, स्वयम्भु, बुङ्गमतीको लाँखेडाँडा, नगरकोट र नुवाकोटको कुमारीडाँडाका नियन्त्रणविन्दुबाट जीपीएस प्रविधिमा आधारित रहेर अध्ययन थालिएको स्वयम्भु नियन्त्रण विन्दुमा रहनुभएका भूमापन महाशाखाका इञ्जिनियर नापी अधिकृत विज्ञान वञ्जाराले बताउनुभयो ।
“चौबीस घण्टाको स्थलगत अध्ययन (क्लोज अबजरभेसन) मा आउने तथ्याङ्कको विश्लेषणपछि के कति भौगोलिक हलचल वा विस्थापन भयो भएन भन्ने थाहा पाउन सकिन्छ,” इञ्जिनियर वञ्जाराले भन्नुभयो । सबै नियन्त्रण विन्दुको अक्षांश, देशान्तर उचाइको अध्ययनका आधारमा तथ्याङ्कहरुको विश्लेषणपछि उपत्यकाको भौगोलिक संरचना सरे नसरेको वा हलचलबारे थाहा हुने बताउनुभयो ।
सर्वेक्षक शिवशङ्कर चौलागाईले जमिनमा नियमित भौगोलिक हलचल हुने भए पनि त्यो ढिलो हुने तर भूकम्पले बढी पनि हुन सक्छ भन्दै अध्ययनको निचोडपछि मात्र यकिन साथ भन्न सकिने बताउनुभयो । यसअघि २०६१ सालमा पनि यसप्रकारको भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरिएको सर्वेक्षक चौलागाईले बताउनुभयो ।








